काठमाडौं– युइएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको पहिलो लेगमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । मंगलबार राति मड्रिडको मैदानमा भएको खेलमा दुवै टिमले तीन–तीन गोलको रोमाञ्चक बराबरी खेलेका हुन् ।
घरेलु टोली रियलका लागि रोड्रिगो र फेडेरिको भल्भेर्डेले एक–एक गोल गरे । पाहुना टोलीले एक गोल उपहार दिएको थियो । सिटीका लागि बर्नान्डो सिल्भा, फिल फोडेन र जोको गाभार्डिओलले एक एक गोल गरे ।
सिटीका लागि सिल्भाले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर, १२ औं मिनेटमा सिटीकै रुवेन डियासले आत्मघाती गोल गरेपछि रियलले खेल बराबरीमा ल्याएको थियो । १४ औं मिनेटमा भिनिसियस जुनियरको पासटमा रोड्रिगोले गोल गरेपछि रियलले २–१ को अग्रता बनायो ।
पहिलो हाफ २–१ को अग्रता बनाएको रियलले दोस्रो हाफ भने जोगाउन असफल भयो । ६६ औं मिनेटमा फिल फोडेनले जोन स्टोन्सको पासमा गोल गर्दै सिटीले २–२ को बराबरीमा खेल ल्यायो ।
७१ औं मिनेटमा सिटीका लागि ज्याक ग्रिलिसको पासमा जोको गाभार्डिओलले गोल गरेपछि ३–२ ले अघि बढेको थियो । तर, ७९ औं मिनेटमा भिनिसियसको पासमा भल्भेर्डेले गोल गर्दै पहिलो लेग ३–३ को अवस्थामा टुंग्याएका थिए । अब दोस्रो लेग १८ अप्रिलमा म्यानचेस्टर सिटीको मैदानमा हुनेछ । यो खेल निर्णाक हुनेछ ।
मंगलबार राति नै भएको अर्को खेलमा आर्सनल र बायर्न म्युनिखले पनि २–२ गोलको बराबरी खेलेका छन् ।














