मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब ठमेल २४ सैँ घण्टा खुला, नियम नयाँ वर्षदेखि लागू



काठमाडौं– संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल नयाँ वर्षदेखि २४ सैँ घण्टा खुला रहने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सैँ घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हाल्नेबित्तिकै शहरको प्रमुख पर्यटकीय गन्तव्य क्षेत्रमा २४ सैँ घण्टा व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सैँ घण्टा व्यवसाय खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको बताए । ‘सरकारले बातावरण बनाइदिने भएपछि हामीले पनि सबै तयारी गरिसकेका छौँ । नयाँ वर्षदेखि त्यो घोषणा हुन्छ, रातभर व्यवसाय सञ्चालन हुन्छ,’ उनले भने ।

त्यस क्षेत्रको सुरक्षा प्रबन्ध र व्यवस्थापनको काम भने काठमाडौं जिल्ला प्रशासन कार्यालयले गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्ग क्षेत्रमा बैशाख १ देखि रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने तयारी भएको बताए ।

अब ठमेल र दरबारमार्गमा क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार रातभर खुल्नेछन् । रात्रीकालीन बजार व्यवस्थापनका लागि प्रशासनले सुरक्षा मापदण्ड बनाएर लागू गर्दैछ ।

मापदण्ड नपुगेका व्यवसाय भने त्यसपछि बन्द हुनेछन् ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ९ : ४३ बजे