मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज इद उल फित्र मनाउँदै इस्लाम धर्मावलम्बी



काठमाडौं– देशैभर रहेका इस्लाम धर्मावलम्बीले बिहीबार इद पर्व मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इस्लाम समुदायले आज इद उल फित्र मनाउँदै छन् । पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

इद उल फित्रका अवसरमा आज मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद (इदगाह) मा गएर नमाज पढ्ने, एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।

इद उल फित्रमा दीनदुःखी एवं गरिबलाई दान दिने, आज नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडासँग आशीर्वाद लिने दिने एवं आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खुवाउने चलन रहेको छ ।

रमदान महिना गरिब, दीनदुःखी र असहायका लागि राम्रो होस् भन्ने दृष्टिकोणबाट अल्लाहले विशेष व्यवस्था गरेको मानिन्छ । आज इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

आज काठमाडौंको जामे मस्जिद एवं देशका विभिन्न स्थानमा रहेका इदगाहमा धार्मिक ग्रन्थ कुरान पाठ गर्ने प्रचलन छ । इद उल फित्रका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलगायतले इस्लाम समुदायमा शुख, शान्ति, प्रगति र संमृद्धिको कामना गर्दै धर्मावलम्बीलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ९ : ४८ बजे