मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढा र राईले जिते रारा अल्ट्रा म्याराथनको वर्ष उपाधि



काठमाडौं । जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ को उपाधि जुम्लाका धिरबहादुर बुढा र खोटाङकी प्रिया राईले जितेका छन् ।

पुरुषतर्फ जुम्ला कनकासुन्दरी गाउँपालिका विराटका धिरज र महिलातर्फ प्रियाले उपाधि जितेकी हुन् । धिरबहादुरले जुम्ला सदरमुकाम खलंगादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी ४ घण्टा ५७ मिनेट ३१ सेकेन्डमा पार गरे । सोही दूरी प्रियाले ६ घण्टा ७ मिनेट ५७ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन ।

पुरुषतर्फ जुम्लाकै दलबहादुर कुँवर र शेरबहादुर बुढाले क्रमशः दोस्रो र तेस्रो स्थान बनाए । निर्धारित दूरी पूरा गर्न दलबहादुरले ५ घण्टा १२ मिनेट ४० सेकेन्ड लगाउँदा शेरबहादुरले ५ घण्टा १८ मिनेट ३५ सेकेन्डमा उक्त दूरी पार गरेका थिए ।

महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावलले ६ घण्टा १५ मिनेट ९ सेकेन्डको टाइमिङ निकाल्दै दोस्रो भइन । जुम्लाकै तिला गाउँकापालिकाकी अनिता बुढाले ६ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो स्थान सुरक्षित गरिन ।

म्याराथनमा प्रथम हुनेले १ लाख रुपैंयाँ नगद सहित मेडल र प्रमाणपत्र, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ राशीको पुरस्कार पाए । म्याराथनमा चार विदेशी खेलाडीसहित ५४ जना दौडिएका थिए ।

कर्णाली स्पोर्टस क्लब जुम्लाको आयोजना भएको जुम्ला रारा अल्ट्रा म्याराथनको उद्घाटनमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ पुगेका थिए ।

म्याराथनमा सोलुखुम्बु, खोटाङ, रुकुम पूर्व, कालीकोट, मुगु, ओखलढुंगा, सिन्धुपाल्चोक र जुम्लाका धावकले भाग लिएका थिए ।

आयोजकका अनुसार जुम्लादेखि दौडिएका ५४ जना धावक मुगुको राराताल पुगेका थिए । जुम्ला खलंगाको बालमन्दिरदेखि सुरु भएको म्याराथन रारा तालको छेउमा गएर टुंगिएको हो ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ११ : ५२ बजे