मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई लाख भक्तजन सोमेश्वर दर्शन गर्न पुगे



भरतपुर, ६ वैशाख । चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनमवी पर्वमा दुई लाख बढी भक्तजनले दर्शन गरेका छन् ।

चैत्र शुक्ल सप्तमी, अष्ठमी र नवमीका दिन कालिका भगवतीको दर्शन गर्न दुई लाखभन्दा बढी भक्तजन उपस्थित भएका सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोखरेलले बताए । “चैतेदसैँका अवसरमा यहाँ लाग्ने मेलामा चैत्र शुक्ल सप्तमीका दिनमात्रै एक लाख भक्तजनको उपस्थिति रहेको थियो”, उनले भने, “त्यसपछि अष्टमी र नवमीका दिनमा भक्तजनको उपस्थिति भयो ।” 

वर्षमा एक पटकमात्रै भक्तजनको ठूलो उपस्थिति रहने सोमेश्वर कालिका मन्दिर नेपाल र भारतको सिमाना ९दशगजा०मा रहेको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल हो । माडी उपत्यकाको दक्षिणमा पर्ने चुरे पहाडमा अवस्थित सोमेश्वर कालिका नेपाल र भारत दुवै देशका नागरिकको आस्थाको केन्द्रका रूपमा रहेको पोखरेलको भनाइ छ ।

“केही वर्ष अगाडिसम्म चैतेदसैँका बेला ९५ प्रतिशत भारतीय तीर्थयात्री र पाँच प्रतिशतमात्रै नेपाली तीर्थयात्री आउने गरेका थिए”, उनले भने, “अहिले पनि नेपालीभन्दा भारतीय बढी आउँछन्, तर तुलनात्मकरूपमा नेपाली तीर्थयात्री बढ्दै गएका छन् ।” सोमेश्वर कालिकाको दर्शन गरेमा मागेको कुरा पाइने विश्वासका आधारमा यहाँ भक्तजन दर्शन गर्न आउने गरेका उनले बताए ।

“चैतेदसैँको मेला व्यवस्थापनका लागि हामी नौ दिनसम्म यही स्थानमा बसेर सबै काम गरेका थियौँ”, उनले भने, “राम नवमीको दिनबाट मेला सकिने भएको हुँदा भक्तजनको उपस्थिति घट्दो क्रममा छ ।” सोमेश्वर कालिका मन्दिर दशगजा क्षेत्रमा पर्ने भएकाले भारतले यहाँ संरचना निर्माण गर्न नदिएका कारण लाखौँ भक्तजनको आस्थाको केन्द्रमा सानो मन्दिर भएको उनको भनाइ छ ।

“यो ठाउँ दशगजामा पर्ने क्षेत्र भएकाले दुई देशको सहमतिबिना यहाँ केही काम पनि गर्न सकिँदैन, दुई देशका नागरिकको आस्था रहेको सोमेश्वर कालिका मन्दिरसमेत जीर्ण भएको छ”, उनले भने । माडी नगरपालिका–५ मा पर्ने मन्दिर र गढी क्षेत्र वसन्तपुर बजारबाट १४ किलोमिटरको दूरीमा पर्दछ ।

यस स्थानमा रहेको गढीमा देखिएका इँटा र गढीको पर्खाल निकै पुरानो भए पनि पुरातत्व विभागले उत्खननमा चासो नदिएको उनले बताए । सोमेश्वरगढीलाई सरकारले नेपालका एक सय पर्यटकीय गन्तव्यभित्र राखेको छ ।

माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाले केन्द्र र प्रदेश सरकारसँगको सहयोग र सहकार्यमा चुरे पर्वत हुँदै मन्दिर पुग्न भन्दा एक हजार पाँच सय मिटर तलसम्म कच्ची सडक निर्माण गरेको बताए। सडकमार्ग सकिएसँगै सुरु हुने पैदलमार्गबाट मन्दिरसम्म पुग्न मानिसको आकर्षण बढाउन प्रस्तर मूर्ति कुँदेर नेपालको मौलिक संस्कृति तथा धार्मिक आस्था झल्काउने प्रयास गरिएको उनको भनाइ छ । उनले गढी क्षेत्र दशगजामा परेकाले स्थानीय सरकारबाट ल्याइएका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन नसकिएको बताए ।

चितवनको भूमिपुत्र भनेर चिनिने आदिवासी जनजाति थारू समुदायको मुख्य आस्थाको केन्द्र भनेर सोमेश्वर कालिका मन्दिरलाई लिने गरिएको मन्दिरका पूजारी शोभाखर चापागाईँले बताए । हिउँद लागेपछि खेतीपाती गर्ने बेलासम्म पानी नपरेको खण्डमा यही मन्दिरमा पूजा गरेर पानी मागेपछि पानी पथ्र्यो भन्ने जनविश्वास रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ४ : २६ बजे