मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजस्थान रोयल्ससँग लखनऊ ७ विकेटले पराजित, राजस्थान प्लेअफको नजिक



काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा उत्कृष्ट फर्ममा रहेको राजस्थान रोयल्सले आठौं जित हात पारेको छ । अहिलेसम्म एक खेलमा मात्रै पराजित भएको राजस्थानले शनिबार राति लखनऊ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । जवाफमा राजस्थानले १९ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । यो जितसँगै राजस्थान प्लेअफको एकदमै नजिक रहेको छ । उसले एक खेल जित्दा प्लेअफ पक्का हुने छ ।

राजस्थान रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । जुन पहिलो दुई ओभरमा सफल सावित भयो । लखनउ सुपर जायन्ट्सको इनिङ्सको पहिलो ओभरमा दुई चौका प्रहार गर्ने क्विन्टन डी कक तेस्रो बलमा आउट भए । उनी ८ रन बनाएर ट्रेन्ट बोल्टको शिकार बने । अर्को ओभरमा अघिल्लो खेलमा नटआउट शतक प्रहार गरेका मार्कुस स्टोइनिस खाता नखोलेर पभेलियन फर्किएका थिए ।

त्यसपछि कप्तान केएल राहुलले दिपक हुड्डाको साथमा लखनऊ सुपर जाइन्ट्सका लागि तेस्रो ठूलो साझेदारीको कीर्तिमान बनाए । उनीहरुले ११५ रन जोडे । यस क्रममा राहुलले ३१ बलमा र दीपकले ३० बलमा अर्धशतक पूरा गरेका थिए ।

तेस्रो विकेटको साझेदारी १३ औं ओभरमा १२६ रनको स्कोरमा टुङ्गियो । दीपक हुडा ३१ बलमा ५० रन बनाएर रविचन्द्रन अश्विनको बलिङमा आउट भएका थिए । लखनउको टोलीले १५ औं ओभरमा १५० रन पुरा गरेपनि १६ औं ओभरमा निकोलस पुरन (११) को विकेट गुमाएको थियो । राहुलले ४८ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ७६ रनको पारी खेले । १८ औं ओभरमा १७३ रनको स्कोरमा राहुल आउट भएका थिए । त्यसपछिको ओभरमा रन धेरै रन बन्न नसक्दा लखनऊको टोली २०० सम्म पुग्न असफल रह्यो ।

आयुष बडोनी १८ रनमा अविजित रहे भने कृणाल पाण्ड्या १५ रनमा अविजित रहे । राजस्थान रोयल्सका लागि सन्दीप शर्माले सर्वाधिक २ विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सलाई यशस्वी जैसवाल र जोस बटलरले राम्रो सुरुवात गरेका थिए । दुवैले पावरप्लेमा नै स्कोरलाई ५० भन्दा माथि पुर्याएका थिए । तर, छैठौं ओभरमा जोस बटलरको विकेट गुम्यो । उनी १८ बलमा ३४ रन बनाएर आउट भए । जैसवाल पनि ठूलो इनिङ खेल्न नसकेर १८ बलमा २४ रन बनाएर सातौं ओभरमा ६० रनको स्कोर हुँदा प्याभिलियन फर्किए । इम्प्याक्ट खेलाडी रायन परागले खास केही गर्न सकेनन् । उनी ११ बलमा १४ रन बनाएर अनुभवी अमित मिश्राको शिकार बने ।

त्यसपछि सञ्जु सामसन र ध्रुव जुरेलले पारी सम्हालेका थिए । दुवैले लखनउका बलरलाई लक्षित गर्दै आ–आफ्नो अर्धशतक पूरा गरे । चौथो विकेटका लागि ६२ बलमा १२१ रनको नटआउट साझेदारी भएको थियो, जसको मद्दतमा राजस्थान रोयल्सले एक ओभर बाँकी रहँदै लक्ष्य पुरा गरेको थियो ।

सामसनले ३३ बलमा ७१ रनको अविजित इनिङ खेले । जुरेलले ३४ बलमा अविजित ५२ रन बनाए । लखनउ सुपर जाइन्ट्सका लागि यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले एक एक विकेट लिए ।
जितपछि राजस्थानले ९ खेलबाट १६ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा राखेको छ भने लखनऊ ९ खेलबाट १० अंकसहित तालिकाको चौथो स्थानमा छ ।

आइपीएल अन्तर्गत आज २ खेल हुने छन् । पौने ४ बजे गुजरात र बेंग्लुरु तथा राति पौने ८ बजे चेन्नाइ र हैदरावाद आमने सामने हुने छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : ३० बजे