मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसपा फुटले मधेश सरकार संकटमा



काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेश प्रदेश सरकार संकटमा परेको छ । मधेशमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् ।

अशोक राई नेतृत्वको जसपा सत्ता गठबन्धनमा जोडिएपछि मधेशमा नेकपा एमाले र माओवादी केन्द्रले सरकार छोड्ने तयारी तरखरमा छन् ।

पार्टी विभाजनले केन्द्रमा कमजोर बनेका उपेन्द्रलाई मधेशमा आफ्नो दल नेतृत्वको सरकार जोगाउन हम्मे परेको छ । एमाले र माओवादी केन्द्रले भने मधेशमा नयाँ सरकार बनाउन कसरत सुरु गरिसकेका छन् । एमाले र माओवादी केन्द्रका नेताहरूबीच बिहीबार प्रदेश सरकारको नेतृत्व कसले लिने भन्ने विषयमा समेत छलफल भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादव पनि आफ्नो सरकार बचाउन लबिङ गरिरहेका छन् । त्यसो त अहिले जसपा विभाजनको असर मधेशमा कस्तो पर्छ भन्ने प्रष्ट भइसकेको छैन । १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

यादव नेतृत्वको सरकारलाई अहिले जसपासहित एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ । यादवलाई एमालेका २४, माओवादीका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्तिका १ र जसपा नेपालका १९ गरी ६१ सांसदले विश्वासको मत दिएका थिए ।

जसअनुसार हाल विपक्षमा कांग्रेसका २२, जनमतका १३, लोसपाका ९, राप्रपाका १ र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् । यसआधारमा यहाँ ४६ सांसद छन् । जसपा नेपालमा भएको विभाजनपछि मधेशमा कुन दलमा कति सांसद रहन्छन् भन्ने निश्चित छैन । जसपा विभाजनले आउने परिणामले नै मधेशमा कसको सरकार बन्ने भन्ने निर्धारण देखिन्छ ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि छलफल सुरु भएको बताए । ‘अहिले प्रारम्भिक छलफल भएको छ । हामी नेतृत्व कसले लिने भन्नेबारेमा छलफल गरिरहेका छौँ,’ बिहीबारको छलफलपछि उनले भने, ‘केन्द्रका नेताहरुको समेत राय बुझेर अघि बढ्छौँ ।’

प्रदेशमा एमाले र माओवादीले सरकार छोड्ने तयारी गरेपनि केन्द्रमा भने जसपा नेपालका अध्यक्ष यादवले सरकार छोड्ने वा सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छैनन् । उनले बुधबार पत्रकार सम्मेलन नै गरेर वर्तमान सरकारले पार्टीले दिएको समर्थन कायम रहने बताएका थिए । तर बिहीबारको मन्त्रिपरिषद् बैठकमा भने यादव सहभागी भएनन् ।

मधेशमा भने एमाले र माओवादी केन्द्रले जसपा नेपाललाई छोडेर जनमतसँग संवाद गर्ने तयारी गरेको बुझिएको छ । यस्तोमा केन्द्रमा समेत जनमत सरकारमा सामेल हुन सक्ने नेताहरूले बताएका छन् ।
नवगठित जसपाका महासचिव मोहम्मद इस्तियाक राईले भने मधेशमा पनि आफूहरुकै बहुमत हुने दाबी गरे ।

‘मधेशमा फेरि पनि केन्द्रीय गठबन्धनकै सरकार हुन्छ । हामीले मधेशमा पनि बहुमत जुटाउँछौँ, अहिलेको सरकार अब रहदैन,’ उनले भने ।

०७९ पुस २७ मा मधेशको मुख्यमन्त्री बनेका यादव त्यसयता निरन्तर मुख्यमन्त्री छन् । उनले पछिल्लो पटक गठबन्धन फेरबदल भएपछि चौँथोपटक विश्वासको मत लिएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १० : ३७ बजे