क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ।उच्च अदालत पाटनले उनको बलात्कारसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको हो।

क्रिकेटर लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए।बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दिपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भएका थियो। न्यायाधीशद्वयले यो मुद्दामा आजै बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन। बहस नसिकएपछि हेर्दाहेर्दै बुधबारका लागि पेशी राखिएको छ।

सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए। उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गरे।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,कृष्ण सापकोटा, मुरारी सापकोटा,सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका थिए। लामिछाने निर्दोष भएको र उनले जबरजस्ती नभई सहमतिमै शारीरिक सम्बन्ध राखेको दाबी उनीहरूको थियो।

लामिछाने पक्षको बहसपछि सरकारको तर्फबाट महर्जन र घिमिरेले जवाफ दिएका थिए । त्यसपछि गौसला २६ का तर्फबाट बहस सुरु भएको थियो । उक्त बहस जारी रहँदा मुद्दा हेर्दाहेर्दै राखिएको छ । बुधबार उनीहरुकै बहसबाट सुनुवाइ सुरु हुनेछ।

त्यसपछि लामिछानेको तर्फबाट जवाफ दिइनेछ। उक्त जवाफ आएपछि न्यायाधीशद्वयले फैसला सुनाउनेछन्।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन आएका थिए।

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ।

जिल्ला अदालत काठमाडौंले आफ्नो मागदाबी भन्दा कम सजाय तोकेको भन्दै सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएको थियो।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ७ : ५३ बजे