यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा



मुगु, २ जेठ । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरुको सुरक्षाका लागि दुर्घटना बीमा गरिएको छ । यार्सागुम्बा पाइने पाटनअन्तर्गत मुगुम कार्मारोङ्ग गाउँपालिकाले सङ्कलकहरुको दुर्घटना बीमा गरेको हो ।

ठूलो सपना बोकेर पाटन पुगेका, जाँदै गरेका र फर्कने क्रममा पालिकाका सिमानाभित्र कोही घाइते भएमा उपचारमा सहयोग पुगोस् र कसैको मृत्यु भइहाले आश्रित परिवारलाई सहयोग पुगोस् भनेर गाउँपालिकाले आथिक वर्ष २०७६÷७७ देखि दुर्घटना बीमा शीर्षकमा बजेट छुट्याउँदै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवाशचन्द्र रावलले जानकारी दिए । 

“यो बीमा प्राप्त गर्न वैधानिक तरिकाले पालिकाको प्रवेश शुल्क तिरेरको हुनुपर्छ । वनमा प्रवेश शुल्क लिँदा गाउँपालिकाले सङ्कलकको आवश्यक व्यक्तिगत विवरणसँगै लिने गरेको छ”, उनले भने ।

पाटनमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मी, स्वास्थ्य टोली र हेराला वन सुरक्षा युवादस्तालाई पनि यस बीमा कार्यक्रममा समेटिएको रावलले बताए । उनका अनुसार पालिकाले बीमाका लागि चालु आवमा रु पाँच लाख बजेट विनियोजन गरेको छ । 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ५ : ४९ बजे