काठमाडौँ । सहकारी ठगी प्रकरणमा छानबिन गर्न बनाइने समितिको कार्यक्षेत्रका विषयमा दलहरूले पुरानै अडान कायम राखेका छन्।
सिंहदरबारस्थित कानुन मन्त्रालयमा आइतबार बसेको बैठकमा दलले पुरानै अडान लिएपछि कार्यदलले निष्कर्ष जुटाउन नसकेको हो। यद्यपि बैठक जारी छ।
कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा बसेको बैठकले संसदीय समितिको कार्यक्षेत्र तोक्न नसकेको हो। कार्यक्षेत्र तय नहुँदा संसद बैठक अनिश्चित बनेको हो।
कार्यक्षेत्र निर्धारणलाई सहजीकरण गर्न नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि कानुन मन्त्रालयतर्फ लागेका छन्।
संसदीय छानबिन समितिको कार्यक्षेत्रको विषय टुंगो नलाग्दा बैठक अघि बढ्ने अवस्था छैन,’ सभामुखको सचिवालयले भनेको छ।प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको थियो।
प्रमुख दलहरुहरुको शनिबार बसेको बैठकले सहकारी ठगीबारे संसदीय छानबिन समिति बनाउने सहमति जुटाएको भनिएपनि कार्यक्षेत्र निर्धारण गर्न सकिरहेको छैन।
कार्यक्षेत्र निर्धारण समितिमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल छन्।संसदीय छानबिन समितिको क्षेत्राधिकारमा अनिवार्य रुपमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान कांग्रेसले राख्दै आएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीको नाम उल्लेख गर्न नहुने अडान लिँदै आएको छ। रास्वपाको अडानलाई एमालेले साथ दिएको छ।














