मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेंग्लुरु प्रतियोगिताबाट बाहिरियो, राजस्थान रोयल्स ४ विकेटले विजयी



काठमाडौं । इन्डियन प्रिमियिर लिग आइपीएको एलिमिनेटर खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी)लाई ४ विकेटले पराजित गरेको छ । योसँगै राजस्थानले क्वालिफायर २ का लागि स्थान पक्का गर्न सफल हुँदा बेंग्लुरु भने प्रतियोगिताबाट बाहिर भएको छ ।

सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानले क्वालीफायर २ मा सनराइजर्स हैदरावादसँग खेल्ने छ । उक्त खेलमा विजयी हुने टिमले उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

बुधवार राति नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा आरसीबीले १ सय ७२ रन बनाएको थियो । विराट कोहलीले ३३ रन बनाए भने अन्तिम ओभरमा महिपाल लोमरले १७ बलमा ३२ रन बनाएर बैंगलोरलाई यो स्कोरमा पुर्याए ।

लक्ष्य पछ्याउने क्रममा राजस्थानको टोलीले स्थिर सुरुवात गरे पनि मध्य ओभरमा रनरेटको नबढ्दा दुवै टिमको समान अवस्था थियो । रायन पराग, शिमरोन हेटमायर र रोभम्यान पावेलको महत्वपूर्ण इनिङ्सले राजस्थान रोयल्सको रनरेटलाई गति दियो ।

१७३ रनको लक्ष्य पछ्याउँदा राजस्थान रोयल्सका ओपनरले ५ ओभरमा कुनै विकेट नगुमाई ४५ रन बनाएका थिए । तर छैठौं ओभरमा टम कोहलर क्याडमोर १५ बलमा २० रन बनाएर आउट भए ।

स्वप्निल सिंहले एक ओभरमा १७ रन बनाए पनि त्यसपछि आरसीबीका बलरहरूले रनरेटलाई धेरै हदसम्म नियन्त्रणमा लिएका थिए । ११ औं ओभरको पहिलो बलमा कर्ण शर्माले कप्तान सञ्जु सामसनलाई स्टम्पिङ गर्दै राजस्थानलाई ठूलो झटका दिए । सामसनले १३ बलमा १७ रन बनाए ।

१४ औं ओभरमा विराट कोहलीका कारण ध्रुव जुरेल रनआउट भए । १५ ओभरसम्म राजस्थानले ४ विकेट गुमाएर १२६ रन बनाएको थियो । जितका लागि ५ ओभरमा ४७ रन बनाउन बाँकी थियो । अर्को २ ओभरमा २८ रन बनेका कारण आरआरलाई ३ ओभरमा १९ रन मात्रै आवश्यक थियो ।

१८ औं ओभरको अन्तिम बलमा सिमरोन हेटमायर २६ रन बनाएर आउट भए । रोभम्यान पावेलले लोकी फर्गुसनको ओभरमा १४ रन बनाएर ६ बल बाँकी रहँदै ४ विकेटले राजस्थानले जित सुनिश्चित गरेको थियो । आरसीबीका मोहमद सिराजले २ विकेट लिए ।

पहिला ब्याटिङ गर्दा बेंग्लुरुका लागि रजत पटिदारले सर्वाधिक ३४ रन बनाउँदा कोहलीले ३३ रन जोडे । यसैगरी क्यामनर ग्रीनको ब्याटबाट २७ रन बन्दा कप्तान फाफ डु प्लेसिस १७ रनको पारि खेलेर विदा भए । दिनेश कार्तिकले ११ रन जोडे । राजस्थानका लागि आभेस खानले तीन तथा रविचन्द्र आश्विनले दुई विकेट लिए ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ११ : १४ बजे