मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस थप लचक बन्यो, अब सहमति होलाः बर्तौला



काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक यसअघि जस्तै निष्कर्ष बिहीन बनेको छ ।

आजको बैठकमा गृहमन्त्री रवि लामिछानेको नामै किटेर संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा रहेको प्रतिपक्षी नेपाली कांग्रेस केही लचक भएको कार्यदलका सदस्य एवं एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताए ।

झण्डै चार घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकमा सहभागी बर्तौलाले छलफल सकारात्मक रुपमा अघि बढेको बताए ।

उनले भने, ‘हामीले बैठक समापन गरेका छैनौं । केही कोणबाट छलफल भइरहेको छ । गृहमन्त्रीको पाटोबाट पनि केही छलफल भएको छ । बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ । गाँठो फुकाउनुपर्छ भन्नेतिर बैठक उन्मुख छ ।’

बर्तौलाले भने, ‘नेपाली कांग्रेस हिजोको बैठकमा केही सकारात्मक बनेको थियो । आज त्यसमा थप लचक बनेको छ । गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ संलग्न भएका सहकारीको बारेमा नाम किटान गरेर छानबिन गरेर जाऔँ भन्ने कुरामा लचकताका साथ एउटा नयाँ प्रस्ताव आएको छ । त्यसबारेमा गृहमन्त्रीसँग पनि छलफल गर्नुपर्ने हुन्छ ।’

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १ : ०७ बजे