मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालेनले पठाएको ‘एक ट्रक धुलो उपहार’ : सडक डिभिजन रुष्ट, मन्त्री दबाबमा



काठमाडौं । काठमाडौं महानगरपालिकाले चक्रपथको धुलो सडक विभागको गेटअगाडि लगेर थुपारिदिएको घटनाले तरंग ल्याएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको ढिलासुस्तीका कारण १५ वर्षदेखि चक्रपथ विस्तारको बहानामा महानगरवासीले धुलो खाइरहनु परेको भन्दै तुरुन्त चक्रपथ विस्तार गर्न दबाबस्वरूप महानगरले शनिबार विभागको गेटअगाडि धुलो थुपारिदिएको हो ।

फोहोर थुपारेको भिडियो राख्दै महानगर प्रमुख बालेन्द्र साहले उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेखेका छन्– ‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नुपरेको छ ।

काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुवाँ खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नुपरेको छ । र, काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ ।

यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु, माया सम्झेर स्विकार्नु होला ।’

महानगरपालिककाले कार्यालय परिसर छिर्न समेत अवरोध हुनेगरी फोहोर फालिदिएको घटनालाई लिएर सडक डिभिजन काठमाडौंले एक विज्ञप्ति प्रकाशित गर्दै गम्भिर आपत्ति भएका जनाएको छ । साथै महानगरले कानुनी राज्यको उपहास गरेको ठम्याई भएको उल्लेख गरेको छ ।

उक्त घटनाले महानगरपालिकाको गरिमा अगाडि नबढ्ने भन्दै सो विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानिय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ ।’

विज्ञप्तिमा उल्लेख भए अनुसार गत शुक्रबार काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह तथा सो डिभिजनका डिभिजन प्रमुख नारायणदत्त भण्डारीबीच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएर सकारात्मक सहमति भएको भएतापनि महानगरपालिकाले फोहर फादिएकोप्रति सडक डिभिजन कार्यालयको आपत्ति रहेको डिभिजन कार्यालयका सुचना अधिकारी ई.प्रमोद खतिवडाको हस्ताक्षरमा जारी उक्त विज्ञप्तिमा भनिएको छ ।

महानगरपालिकाले कानुनी राज्यको उपहास गरेको ठम्याई भएको भन्दै उक्त विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसअघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमति दिइएको समेत जानकारी गराईन्छ ।

आज मिति २०६१।०२।१२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमति सडक काटी सडकको ‘स्ट्याण्डर्ड’ चौडाई घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमति सडक काटेर साघुरो बनाउन नहुने भनि सडक डिभिजनबाट सो कार्यमा रोक लगाईएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ ।

सडक डिभिजन काठमाडौंको कार्य क्षेत्रभित्र भएका त्रुटी औंल्याई आवश्यक सुझाब दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सो को प्रतिकार गर्न समेत सडक डिभिजन काठमाडौं बाध्य हुने व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराईन्छ,’उक्त विज्ञप्तिमा भनिएको छ ।

उता काठमाडौं महानगरपालिकाले भने चक्रपथ विस्तारका क्रममा नागरिकले धूलो र कष्ट व्यहोर्नु परेको भन्दै सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं अगाडि धूलो थुपारिदिएको जनाएको छ ।

महानगरपालिकाका प्रमुखले भौतिक पूर्वाधारमन्त्री महासेठको निर्देशनमा चक्रपथ विस्तारको काम रोकिएको भन्दै काम सुचारु नगरेसम्म दैनिक एक ट्रक धुलो उपहार पठाइदिने घोषणा गरेका हुन् ।

कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा १५ वर्षदेखि जनताले सास्ती ब्यहोर्नु परेको जनाउँदै मेयरको निर्देशनमा शनिबार सडकको धूलो र फोहोर जम्मा गरी ती कार्यालयहरु अगाडि खनाइदिएको हो ।

सम्बन्धित कार्यालयमा धूलो खन्याएको भिडियोसहित नगर प्रमुख साहले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनले चक्रपथ विस्तारको काम अगाडि नबढाएसम्म हरेक दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धूलो खसाल्ने चेतावनी दिएका छन् ।

चीन र नेपाल सरकारको संयुक्त सहयोगमा विस्तार चक्रपथ निर्माण गर्न अध्ययनको काम केही ढिला हुँदा केही समस्या आएको बताइन्छ । लामो समयदेखि अन्योलमा रहेको चक्रपथ निर्माण आयोजनाका लागि सरकारले बजेट सुनिश्चित गर्न नसक्दा काम अगाडि बढाउन सकेको छैन् ।

नेपाल सरकारले आर्थिक वर्ष २०६१÷६२ बाट काठमाडौं उपत्यकामा जग्गा एकीकरणको माध्यमबाट बाहिरी चक्रपथ निर्माण गर्ने कार्यक्रमको घोषणा गरी विस्तृत अध्ययन कामहरू अगाडि बढाएको थियो । तर, घोषणा भएको डेढ दशक बित्दा बाहिरी चक्रपथ निर्माण आयोजनाको नाममा मात्रै सिमित बनेको छ ।

चक्रपथ निर्माणका लागि चालु आर्थिक वर्ष २०७९÷८० बाटै काम सुरु गर्ने तयारी गरे पनि सरकारले बजेटको सुनिश्चित गर्न नसक्दा आयोजना अलपत्र बनेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ११ : ५० बजे