मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अत्याधिक गर्मीले बाँकेमा छालाका बिरामी बढे



काठमाडौं । (नेपालगञ्ज) बढ्दो गर्मीसँगै बाँकेमा छाला रोगका बिरामी बढ्दै जान थालेका छन् । गर्मीका कारण शरीरमा पसिना आउने र त्यसबाट शरीर चिलाउने, लुतो, दाग, छालामा सङ्क्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।

अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना छालारोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा बद्री चापागाईँले जानकारी दिए ।
उनले गर्मीयाममा छालामा हुने सङ्क्रमणका कारण दाद, लुतो, छाला चिलाउने विभिन्न प्रकारका छालासँग सम्बन्धित बिरामी आउने क्रम बढेको उल्लेख गर्दै यसबाट बच्न व्यक्तिगत रूपमा सरसफाइमा ध्यान दिन आग्रह गरे ।

उनले छालामा जथाभावी औषधिको प्रयोग नगर्न र चिकित्सकको परामर्शमा मात्रै औषधि प्रयोग गर्न आग्रह गर्दै गर्मीयाममा चर्को घाम र गर्मीबाट बच्न सुझाव दिए । बाँकेस्थित साइनिङ अस्पताल, (आइएनएफ)का अनुसार एक महिनाको अवधिमा करिब एक हजार छालाका बिरामीको जाँच भएको छ ।

साइनिङ अस्पताल (आइएनएफ)का कुष्ठरोग प्रमुख मङ्गल थारूले केही शङ्कास्पद (कुष्ठरोग) बाहेक अधिकांश छाला चिलाउने, दाद र लुतोलगायतका छालाका बिरामी आइरहेको बताए ।

उनले भने, “बिरामी आइरहेका छन् र उपचारपछि घर फर्केका छन् ।” जिल्लाको जानकी गाउँपालिका, खजुरा, बैजनाथ र नेपालगञ्ज उपमहानगरपालिकाबाट छालाका बिरामी अस्पताल आउने गरेको बताइएको छ ।

प्रमुख थारूले गर्मी बढेपछि छालाका बिरामी आउने क्रम पनि बढेको उल्लेख गर्दै अवस्था हेरेर जाँच गरिएको बताए । चिकित्सकका अनुसार खासगरी गर्मीयाममा नै छालाका रोगका बिरामी बृद्धि हुने गर्दछ । नेपालगञ्जमा दिनअघि यहाँको तापक्रम ४४ दशमल दुई डिग्री सेल्सियससम्म पुगेको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ४ : २८ बजे