सोलुखुम्बु, २७ जेठ । सोलुुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुगा खोलामा ‘बेलिब्रिज’ निर्माणमा लापरबाही भएको पाइएको छ । महाकुलुङ गाउँपालिका–१ बुङदेखि वडा नम्बर ४ र ५ गुदेल जोड्ने पुलको अनुगमनका क्रममा लापरबाही भएको पाइएको सो गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङले जानकारी दिए ।
पुल प्रयोगमा नआउँदै संरचना बाङ्गिएको गुनासो आएपछि अनुगमन गरिएको र निर्माणकै क्रममा गम्भीर लापरबाही भएको पाइएको उनले बताए। “पुल निर्माणका क्रममा नै पुल बाङ्गो भएको रहेछ, जानकारी आएपछि स्थलगत निरीक्षण गरियो”, उनले भने । उनले पुल निर्माणमा मापदण्ड पालना नभएको बताए।
गाउँपालिका अध्यक्ष कुलुङ, प्रमुख प्रशासकीय अधिकत नवीनकुमार गोलेका साथै इञ्जिनियर, सव–इञ्जिनियरसहित टोलीले पुलको भार परीक्षण गरेको थियो । कूल ३६ मिटर लम्बाई र चार दशमलव २५ मिटर चौडाइ रहेको पुलको भारवहन क्षमता ४० टनको छ ।
पुलमा समस्या देखिएपछि निर्माण कम्पनीलाई ध्यानाकर्षण गराइएको अध्यक्ष कुलुङले जानकारी दिए ।