मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेस बाँकेले स्थानीय तहका जनप्रतिनिधिसँग थाल्यो छलफल



खजुरा (बाँके), १ असारः नेपाली कांग्रेस बाँकेले स्थानीय तहको सेवा प्रभावकारी बनाउने उद्देश्यले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गरेको छ । स्थानीय तहमा प्रवाह हुने सेवाको गुणस्तरीयता, हालसम्म भएका प्रगति र पार्टीसँगको समन्वयका विषयमा छलफल गरिएको कांग्रेस जिल्ला सभापति नारायणप्रसाद गौडेलले बताए ।

“प्रमुख–उपप्रमुखले निर्वाचनपश्चात् गरेका प्रतिबद्धता के–कति पूरा भए, के–कति पूरा हुने चरणमा छन्, जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने सन्दर्भमा भएका प्रगति, भौतिक र मानवीय विकासको सूचकलगायत सुशासन र समग्र समृद्धिका हिसाबले भए गरेका प्रगतिबारे जानकारी लिने उद्देश्यले उहाँहरुसँग बैठक गरेका हौँ”, सभापति गौडेलले भने ।

उहाँले जनतालाई सन्तुष्ट बनाउने गरी काम गर्न भनेको बताए । “अहिलेसम्म भएका प्रगति, चुनौती र भावी योजनाबारे जनप्रतिनिधिले हामीलाई जानकारी गराउनुभएको छ । सीमित स्रोतसाधनका बाबजुद जनअपेक्षाअनुसार काम भइरहेको छ”, उनले भने। 

छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुरका प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ र खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले आआफ्नो दुईवर्षे कार्यकालबारे जानकारी गराएका थिए । 

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ९ : ३४ बजे