मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशहरुले घटाउँदै ल्याए बजेट, यस्तो छ प्रदेशहरुको बजेट



काठमाडौं । प्रदेश सरकारहरुले असार १ मा आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने परम्पराअनुसार शनिबार आ-आफ्ना प्रदेश सभामा बजेट प्रस्तुत गरेका छन् ।

समाचार तयार पार्दासम्म बागमती र मधेशबाहेक पाँच प्रदेश सरकारले आगामी आव २०८१÷८२ का लागि बजेट ल्याएका छन् । प्रदेश सरकारहरुले यसपटक बजेट घटाएर ल्याएका छन् । बारम्बार सरकार फेरिने, मध्यावधि समीक्षामा बजेट पुनरावलोक गरेर घटाउनुपर्ने संघजस्तै समस्या प्रदेशहरुमा पनि छ ।

कोशी प्रदेश सरकारले आगामी आव २०८१/८२ का लागि ३५ अर्ब २७ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले विराटनगरस्थित प्रदेश सभामा प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा एक अर्ब कम छ ।

चालु आवमा कोशीको बजेट ३६ अर्ब ७४ करोडको थियो । प्रदेश सरकारले आवका लाथि चालुतर्फ १४ अर्ब ४७ करोड ३० लाख र पुँजीगततर्फ १६ अर्ब २० करोड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ करोडको बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेश सरकारले आव २०८१/८२ का लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु आवको भन्दा ८५ करोडले कम बजेट ल्याइएको हो । आर्थिक वर्ष २०८०/८१ को बजेट ३३ अर्ब ८२ करोड रुपैयाँको थियो ।

आर्थिक मामिला मन्त्री टकराज गुरूङले पोखरास्थित प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड करोड बजेट विनियोजन गरिएको छ ।

लुम्बिनी सरकारले आव २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । बजेटको यो आकार चालु वर्षको तुलनामा डेढ अर्बले कम हो । चालु आर्थिक वर्ष २०८०/८१ का लागि लुम्बिनीमा ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट थियो ।
आर्थिक मामिलामन्त्री चेतनारायण शर्माले चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पुँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छन् भने वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

कर्णाली सरकारले आव २०८१/८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । सुर्खेतस्थित प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गर्दै पुँजीगततर्फ कुल बजेटको ५९.७ प्रतिशत अर्थात १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी गराए ।

सुदूरपश्चिम प्रदेश सरकारले आव २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । प्रदेशको बजेट यसपटक बढेर आएको छ । चालु आर्थिक वर्षका लागि बजेट २९ अर्ब २६ करोड रुपैयाँ बराबरको ल्याइएको थियो ।

आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार र पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार बजेट विनियोजन गरेको जानकारी गराए ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ७ : ५३ बजे