मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको शिष्टाचार भेट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गरेका छन् । सोमबार साँझ बालुवाटारमा भएको भेटमा नेपालको विकास र विश्व बैंकले नेपालमा गर्दै आएको सहयोग लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले स्थिर विकास साझेदार विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गसँग आफू नेतृत्वको सरकारले आगामी आर्थिक नीति र बजेटमार्फत आर्थिक सुधारको थालनी गरेको बताए । यस्तै उनले वैदेशिक लगानी र विवेकपूर्ण वित्तीय व्यवस्थापनका लागि नेपालमा अनुकूल वातावरण सिर्जना गर्ने विश्वास दिलाएको दाहालको सचिवालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्रीले ऊर्जा, पर्यटन, कृषि व्यवसाय, र सूचनाप्रविधिजस्ता क्षेत्रहरूमा लगानी गर्दा तुलनात्मकरूपमा फाइदा लिन सकिने जानकारी ट्रोस्टसेन्बर्गलाई गराए । नेपाल जलवायु परिवर्तनबाट नराम्रोसँग प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलवायु न्यायका लागि नेपालले निरन्तर विभिन्न अन्तरराष्ट्रिय मञ्चमार्फत वकालत गर्दै आएको र त्यसमा विश्व बैंकको महत्त्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे ।

सो अवसरमा विश्व बैंकका निर्देशक ट्रोस्टसेन्बर्गले नेपालको आर्थिक विकासमा विश्व बैंकबाट आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताए । विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । सोही बैठकमा सहभागी हुन नेपाल आएका ट्रोस्टसेन्बर्गले दाहालसँग आज भेट गरेका हुन् ।
बैठक ४ असारदेखि ७ असार (१८ जुनदेखि २१ जुन २०२४) सम्म बैठक काठमाडौंमा चल्नेछ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ८ : ०९ बजे