मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न सरकारलाई दबाब



काठमाडौं । प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त नहुँदा पूँजीबजारको कारोबारमा प्रत्यक्ष असर परेको भन्दै छिटो अध्यक्ष नियुक्ति प्रकृया पूरा गर्न ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद उप्रेतीले सरकारले पूँजीबजारको नियमन गर्न बनेको संस्था धितोपत्र बोर्डको अध्यक्ष गत पुष २१ गतेदेखि रिक्त हुँदा पूँजी बजारको लगानीकर्तामा असर परेको बताए ।

उनले आफूले एक वर्ष पहिले नै धितोपत्र ‘बोर्डलाई ढिलोपत्र बोर्ड’ भनेर गरेको व्यङ्ग्य सरकारको कार्यले पुष्टि गरेको उल्लेख गरे । यस्तै सरकारले सिफारिस गरेर पनि बोर्ड अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै उप्रेतिले व्यङ्य गरे ।

उनले भने, ‘गत माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष सिफारिस समिति बनाउँछ । फागुन १६ गते आवेदन माग हुन्छ, त्यसमा १९ जनाको आवेदन पर्छ । ०८० चैत २५ गते पाँच जनाको नाम सिफारिस हुन्छ । त्यसयता पाकेको खिचडी अब त भाग लगाउने बेला भयो होला नि ? खिचडी भाग लगाइदिएर तुरुन्तै अध्यक्ष नियुक्ति गरिदिए हुन्थ्यो । अध्यक्ष नियुक्ति नहुँदा २२ अर्बसम्मको कारोबार गरेको क्षेत्रलाई प्रत्यक्ष रुपमा असर गरेको छ ।’

सरकारले प्रकृया अगाडि बढाएर गत चैत २५ गते पाँच जनाको नाम बोर्डको अध्यक्षमा सिफारिस गरेको भएपनि अन्तिममा परेका तीन जनामध्येबाट अध्यक्ष चयन गर्न सकेको छैन ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १ : ०५ बजे