मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोषाध्यक्ष सुवेदीकै निर्देशनमा पशुपतिको भेटी चोर्ने पाँचै जना पुर्पक्षका लागि थुनामा



काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ मन्दिरभित्र रहेको संस्कृति संरक्षण महाशाखाको भेटीगणना कक्षबाट भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जना कर्मचारी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को निर्वाचन आयोगका सदस्य रहेका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको निर्देशनमा भेटीगणना कक्षबाट भेटी चोरी गर्ने क्रममा पक्राउ परेको कोषका नायव सुब्बा नवराज ढोडारीसहित पाँच जना अदालतको आदेशपछि थुनामा गएका हुन् ।

जिल्ला न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले थुनछेक बहसपछि पाँच जनालाई थुनामा पठाउन आदेश दिएको छ ।

एकैदिनमा ५५ हजार चोरी

सरकारी वकील कार्यालयले अभियुक्त अनिल परियारले विगत ५ महिनादेखि भेटी गणना कार्यमा लागेको र आफूले दैनिक ५५ हजार रुपैयाँसम्म भेटी लुकाएको बयान दिएका छन् ।

सञ्जय कपालीले विगत ५–६ महिनादेखि भेटी गणना कार्यमा संलग्न रहेको र आफूले दैनिक ३२ हजार रुपैयाँसम्म गणना गर्दा लुकाउने गरेको र कुमार दमाईले विगत ५–६ महिनादेखि भेटी गणना कार्यमा संलग्न रहेको र आफूले दैनिक ५० हजार रुपैयाँसम्म गणना गर्दा लुकाउने गरेको भनी बयान गरेको दिएका छन ।

सरकारी वकील कार्यालयले अनिल परियारले जम्मा ८२ लाख ५० हजार रुपैयाँ सञ्जय कपालीले जम्मा ५७ लाख ६० हजार र कुमार दमाईले जम्मा ९० लाख गरी दुई करोड तीस लाख दश हजार डाँका चोरी गरेको विगो देखिएको दावी गरेको छ । कुमार दमाईको साथबाट बरामद भएको २७ हजार ५०० रुपैयाँ, अनिल परियारको साथबाट बरामद भएको जम्मा ३४ हजार ७५५ नेपाली रुपैयाँ र १९ हजार १२० भारतीय रुपैयाँको विवरण अभियोगपत्रमा उल्लेख गरेको छ ।
नायव सुब्बा नवराज ढोडारीको लकरबाट ५ हजार २६५ र डेराकोठाबाट नगद ६ लाख ७ हजार ५०० सहित ७ लाख ५ हजार ६ सय १२ रुपैयाँ पशुपति क्षेत्र विकास कोषलाई फिर्ता दिलाइ बरामद हुन नसकेको दुई करोड २३ लाख ४ हजार ३८१ रुपैयाँ भराउन पनि अभियोगपत्रमा मागदावी गरिएको छ ।

सुवेदीको शंकास्पद भूमिका

यसैबीच, अनुसन्धानका क्रममा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको बयान लिइएन । भेटीगणनास्थलबाटै पक्राउ परेका अनिल परियारले ‘कोषाध्यक्ष नारायण सुवेदी सरको निर्देशन’ भेटी गणना गरेको बयान दिएका थिए ।

भेटी चोरीको मुख्य योजनाकारकै रुपमा कोषाध्यक्ष सुवेदीको नाम प्रारम्भिक बयान आएको थियो । तर पछि उनीमाथि अनुसन्धान भएन । सुवेदीले आफूले भेटी चोरी नगरेको बताउँदै आएका छन् ।

एकीकृत समाजवादीका उपमहासचिव डा। विजय पौडेलनिकट सुवेदीले आफूमाथि अनुसन्धान नगराउन शक्तिकेन्द्र पनि धाएका थिए । सुवेदी नेता पौडेलले सञ्चालन गरेको जनता टेलिभिजनका एक सञ्चालक हुन् ।

पौडेलले सुवेदीसँग अहिले खास सम्बन्ध नरहेको दावी गरेका छन् । तर, धार्मिक अभियन्ताहरूले भेटी चोरी प्रकरणमा सुवेदीको भूमिका शंकास्पद रहेकाले संसदीय छानबिन वा उच्चस्तरीय छानबिनको माग गरिरहेका छन् ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ४ : २४ बजे