मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन आयुक्तमा सिफारिस प्रधानमाथि सार्वजनिक उजुरी आह्वान गरिने



काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ गर्न सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय भएको छ । शुक्रबार संसदीय सुनुवाइ समितिको संयुक्त बैठकमा प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुनुको साथै सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय भएको समितिका सभापति पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।

उनले भने, ‘प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनको लागि सो सम्बन्धी सूचना सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चारका माध्यममार्फत सार्वजनिक गर्ने प्रस्ताव गर्दछु ।’

यस्तै, उनले प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ अनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन पनि दिएका छन् ।उनले भने, ‘सुनुवाइको लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना समिति समक्ष दिने प्रयोजनको लागि सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चारका माध्यम मार्फत संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १२ अनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’

गत आइतबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको थियो ।निर्वाचन आयुक्त पदको लागि कृष्णमान प्रधानको नाम प्रस्ताव गरि संसदीय सुनुवाइका लागि संवैधानिक परिषद्बाट समितिमा असार ४ गते पत्र प्राप्त भएको थियो ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : ३३ बजे