मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्राजिलमा बालेनले भने : ठुला सहरमा जनसंख्याको चाप घटाऔं



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले ठूला शहर केन्द्रीत बसाइँसराइको बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्ने बताएका छन् । ब्राजिलको साओ पाउलोमा सम्पन्न मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर शुक्रबार स्वदेश फर्किएका शाहले बैठकमा ‘मेट्रोपोलिस नीति वहस’ शीर्षकमा भएका छलफल र नीति वहसका विषयमा संक्षिप्त जानकारी दिँदै बसाइँसराइको बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीतिको खाँचो औंल्याएका हुन् ।

‘ठूला सहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनुपर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक फरक ठाउँका सहरहरुको समस्या फरक हुन सक्छन् । यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल भयो,’ बालेनले भनेका छन् ।

निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते सञ्चालन भएको थियो । बैठकसँगै प्रमुख शाहले ‘मेयर राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’ मा सहरका भवन तथा बसोबास व्यवस्थापनका विषयमा सहभागी बनेका थिए ।

उनले सो बहसमा ठुला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर र सहर जीवनयापनका सुविधाहरु नजिक रहेका सहरहरुमा पु¥याएर, ठुला सहरमा केन्द्रीकृत हुँदै गएको जनसंख्याको चाप घटाउन थाल्नुपर्नेमा जोड दिएका थिए ।

‘बसाइँसराइले सहरी चाप बढ्ने मात्र होइन, गाउँठाउँका मौलिक संस्कृति पनि नासिन्छन् । भाषा पनि नासिन्छ । ग्रामीण जीवनसँग जोडिएका विविध आयाम जोगाउन पनि यस्ता नीतिको खाँचो छ ।’ उनले भनेका थिए ।नीति बहस सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत थियो ।

बैठकमा सहरी आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज बसोबाससँग सम्बन्धित विषयमा छलफल भइरहेको जानकारी शाहले गराएका थिए । प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् । मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरहरुको आवद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामुहिक आवाज बुलन्द गर्ने अन्तर्राष्ट्रिय संस्था हो ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  १२ : ५० बजे