मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामाथि एकतर्फी जित निकाल्दै इंग्ल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा



काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा अमेरिकामाथि एकतर्फी जित निकाल्दै इंग्ल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो । इंग्ल्याण्डले जारी विश्वकपकै सर्वाधिक ठूलो १० विकेटको जित निकालेको छ ।

ब्रिजटाउनमा इंग्ल्याण्डले सेमिफाइनलमा पुग्न १८.४ ओभरमा ११६ रनको लक्ष्य पछ्याउनुपर्ने भएपनि डिफेन्डिङ च्याम्पियनले कुनै विकेट नगुमाई ९.४ ओभरमा मात्रै जित हात पारेको थियो । पहिलो– क्रिस जोर्डन, जसले १९ औं ओभरमा ह्याट्रिक लिए र अमेरिकी टोलीलाई ११५ रनको मामूली स्कोरमा सीमित गरे । दोस्रो, ३८ बलमा अविजित ८३ रनको विस्फोटक इनिङ्स खेलेका जोस बटलरले १० ओभरमा जित दिलाए पनि म्यान अफ द म्याचको अवार्ड ४ ओभरमा १३ रन दिएर २ विकेट लिने आदिल रसिललाई दिइएको थियो ।

फास्ट बलर क्रिस जोर्डनको उत्कृष्ट प्रदर्शनपछि कप्तान जोस बटलर र फिल साल्टको ओपनिङ जोडीले उत्कृष्ट प्रदर्शन गरेपछि इंग्ल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो ।विश्वकपमा इङ्ल्यान्डले कुनै विकेट नगुमाएको यो दोस्रो पटक हो । अमेरिकाभन्दा अगाडि सन् २०२२ मा इंग्ल्याण्डले पनि भारतलाई सोही अन्तरले पराजित गरेको थियो ।क्रिस जोर्डनको ह्याट्रिकको आधारमा इंग्ल्याण्डले सुपर आठ चरणको खेलमा अमेरिकाको इनिङ्स १८.५ ओभरमा ११५ रनमा समेट्यो ।

जवाफमा इङ्ल्यान्डले ९.४ ओभरमा कुनै विकेट नगुमाई ११७ रन बनाएर खेल जित्यो । इङ्ल्यान्डका लागि बटलरले ३८ बलमा छ चौका र सात छक्काको मद्दतले अविजित ८३ रन बनाए भने फिल साल्टले २१ बलमा दुई चौकाको मद्दतले २५ रन बनाए । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको अमेरिकी टोलीले सुपर आठमा निराशाजनक प्रदर्शन गर्दै तीनवटै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ । यो शानदार जितसँगै इंग्ल्याण्ड तीन खेलमा दुई जित र एक हारसहित चार अंकसहित सुपर एट चरणको समूह दुईको शीर्ष स्थानमा पुगेको छ । इङ्ल्यान्डको नेट रन रेट +१.९९२ भयो जुन दक्षिण अफ्रिका र वेस्ट इन्डिजभन्दा राम्रो हो ।

लक्ष्य पछ्याएको इंग्ल्याण्डको टोलीलाई बटलर र साल्टले बलियो सुरुवात गराए । पहिलो दुई ओभरमा इंग्ल्यान्डले सुस्त ब्याटिङ गरे पनि तेस्रो ओभर बलिङ गर्न आएका सौरभ नेत्रवलकरविरुद्ध बटलर र साल्टले आक्रमक पारि खेरे । यो ओभरमा इंग्ल्याण्डले १९ रन बनाएको थियो । त्यसपछि दुवै ब्याट्सम्यानले जोशका साथ ब्याटिङ जारी राखे र पावरप्लेको अन्त्यसम्म बिना कुनै क्षति ६० रन जोडे । बटलरले ३२ बलमा छक्का लगाएर आफ्नो अर्धशतक पूरा गरे । अर्धशतक पूरा गरेपछि बटलरले विस्फोटक ब्याटिङ गरे । उनले नवौं ओभरमा बलिङ गर्न आएका हरमित सिंहको ओभरमा ३२ रन बनाएर लगातार पाँच छक्का प्रहार गरे र अर्को ओभरमा चौका प्रहार गर्दै टोलीलाई जित दिलाए ।

अमेरिकी लेफ्ट आर्म स्पिनर हरमित सिंहको नाममा एक अनावश्यक कीर्तिमान दर्ता भएको छ । हरमितले इंग्ल्याण्ड विरुद्ध एक ओभरमा ३२ रन दिए र टी–२० विश्वकपमा एक ओभरमा सबैभन्दा धेरै रन दिने पाँचौं बलर बने । इंग्ल्याण्डका फास्ट बलर स्टुअर्ट ब्रोड र अफगानिस्तानका अजमातुल्लाह ओमरजाईले टी–२० विश्वकपमा सबैभन्दा महँगो ओभर बलिङ गर्ने खराब कीर्तिमान राखेका छन् । ब्रोडले सन् २००७ मा भारतविरुद्धको ओभरमा ३६ रन दिएका थिए भने ओमरजाइले २०२४ मा वेस्ट इन्डिजविरुद्धको ओभरमा ३६ रन दिएका थिए ।

त्यसअघि इंग्ल्याण्डले टस जितेर अमेरिकालाई पहिले ब्याटिङको निम्तो दिए पनि अमेरिकाको ब्याटिङ निकै कमजोर रह्यो । अमेरिकाले ८८ रनमा पाँच विकेट गुमाएको थियो । पहिलो ओभरमा एन्ड्रिस गौसले रीस टोपलीको बललाई फाइन लेगमा छक्का प्रहार गरे तर दुई बलपछि सोही शट खेल्ने प्रयास गर्दा उनी डिप स्क्वायर लेगमा फिल साल्टको हातमा क्याच दिए । ब्याकवर्ड पोइन्टमा मोइन अलीको हातमा स्टिफन टेलरलाई क्याच आउट गराएर साम कुरनले टी २० अन्तर्राष्ट्रियमा आफ्नो ५० औं विकेट लिए । जसका कारण पावरप्लेमा अमेरिकाको स्कोर दुई विकेटमा ४८ रन थियो । जोस बटलरले लेग स्पिनर आदिल रशिदलाई बल दिए, जसले कप्तान आरोन जोन्सलाई आफ्नो दोस्रो ओभरमा सुन्दर गुगलीमा बोल्ड गरे । त्यसपछि राशिदले गुगलीमा नितिशको इनिङ्स समाप्त गरे । त्यसपछि १४औं ओभरको अन्त्यमा लियाम लिभिङस्टोनले मिलिन्द कुमारलाई आउट गर्दै ५ विकेटमा ८८ रन बनाएको थियो । अमेरिकाले १७ औं ओभरमा १०० रन पूरा ग¥यो ।

कप्तान जोस बटलरले जोर्डनलाई १९ औं ओभर बलिङ गर्न पठाए । मार्क वुडको स्थानमा जोर्डनलाई प्लेइङ–११ मा स्थान दिइएको थियो र उनले त्यसको पूरा फाइदा उठाए । जोर्डनले कोरी एन्डरसनलाई पहिलो बलमा ह्यारी ब्रुकको हातबाट क्याच आउट गराए । अर्को बल डट भयो । तेस्रो बलमा जोर्डनले अली खानलाई बोल्ड गरे । नयाँ ब्याट्सम्यानको रुपमा आएका नोस्टुश केन्जिगे चौथो बलमा एलबीडब्लु आउट भए र अर्को बलमा सौरभ नेत्रावलकरलाई बोल्ड गरेर ह्याट्रिक पूरा गरे । योसँगै जोर्डन टी–२० मा ह्याट्रिक पूरा गर्ने पहिलो इङ्ल्यान्ड बलर बनेका छन् । यो विश्वकपमा कुनै बलरले ह्याट्रिक गरेको यो तेस्रो पटक हो । जोर्डनअघि अस्ट्रेलियाका फास्ट बलर प्याट कमिन्स यस विश्वकपमा ह्याट्रिक गर्ने एकमात्र बलर थिए । उनले लगातार दुई खेलमा ह्याट्रिक गरेका हुन् ।

जोर्डनले यो खेलमा ह्याट्रिक मात्र पूरा गरेनन्, उनले आफ्नो ओभरमा पाँच बलमा चार विकेट पनि लिए । आयरल्यान्डका कर्टिस क्याम्फरपछि टी–२० विश्वकपमा एक ओभरमा चार विकेट लिने जोर्डन विश्वकै दोस्रो बलर बनेका छन् । क्याम्फरले २०२१ मा नेदरल्याण्ड्स विरुद्ध एक ओभरमा चार विकेट लिएका थिए । अब जोर्डनले पनि यो उपलब्धि हासिल गरेका छन् । अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक ३० रन र कोरी एन्डरसनले २९ रन बनाए भने हरमितले २१ रनको योगदान दिए । इंग्ल्याण्डका लागि जोर्डनले ४ विकेट लिए भने साम कुरान र आदिल रसिदले २–२ विकेट लिए ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ८ : ०८ बजे