मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तपस्वी भनिने रामबहादुर बम्जन बाल यौन दुराचारको कसूरमा दोषी ठहर



काठमाडौँ । सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनलाई बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर गरेको छ।

जिल्ला अदालत, सर्लाहीले सोमबार उनलाई दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले बताए। उनले भने, ‘१७ असारमा सजाय निर्धारण हुनेछ।’

बम्जनले सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा आश्रम खडा गर्ने, जबरजस्ती करणी गर्ने, व्यक्ति बेपत्ता पर्ने कार्य गरेको आरोप लागेको थियो। उक्त आरोपमा विभिन्न जिल्लामा जाहेरी समेत परेको थियो।

बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ। उनीहरु सबैलाई सिन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ। सर्लाहीस्थित आश्रममा बाल यौन दुराचार भएको जाहेरी थियो।

महिला अधिकारकर्मीको सहयोगमा ३० भदौ २०७६ मा ललितपुरमा पत्रकार सम्मेलन गर्दै एक १८ वर्षीया युवतीले बम्जनले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन्। त्यसपछि प्रहरी कहाँ पनि यो विषयमा उजुरी परेको थियो।

प्रहरीले खोजी गर्न थालेपछि उनी लामो समय बेपत्ता रहेका थिए। उनलाई २०८० परुष २४ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोलीले पक्राउ गरेको थियो।

उनलाई सुरुमा सर्लाही जिल्ला अदालतमा पेस गरिएको थियो । सर्लाही जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। सर्लाहीको मुद्दाको फैसला भएसँगै उनलाई सिन्धुपाल्चोक, नुवाकोट र मकवानपुर जिल्ला अदालत पेस गरिने छ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ८ : १० बजे