मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘संसदमा बोल्ने सांसदहरुको बोलीकै कारण लोकतन्त्र खतरामा छ’



काठमाडौं । फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले सबै भन्दा गलत सूचनाको स्रोत संसद रहेको दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित ‘प्रमाणमा आधारित सूचनाको हकको प्रयोग र महत्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले संसदमा बोल्ने सांसदहरुको बोली सबैभन्दा गलत हुने एक अध्ययनले पुष्टि गरेको बताएका हुन् ।

उनले भने, ‘सबैभन्दा बढी मिसईन्फरमेसनको स्रोत संसद हो । संसदमा बोल्ने सांसदहरुको बोली सबैभन्दा गलत हुँदो रहेछ । जे कुरा त्यहाँ उनीहरु दाबी गरेर बोलेका हुन्छन् । त्यसको आधार नहुने कुरा बेलायतको एक अध्ययनले देखाएको छ ।’

संसदमा बोल्ने सांसदहरुको बोलीकै कारण लोकतन्त्र खतरामा रहेको दाहालको भनाइ छ ।

प्रधानमन्त्री र मन्त्रीहरुले बोलेको कुरा प्रवाह गर्ने मात्र नभई त्यसको प्रमाणिकरण गरि तथ्य जाँच गर्नु पत्रकारिताको धर्म भएको उनको भनाइ छ ।

उनले अघि भने, ‘संसदमा बसेका मान्छेहरूले जे बोल्यो त्यही कुराले लोकतन्त्रमा खतरा छ । यसका लागि पनि हामीले लड्नुपर्छ । पत्रकारिताको धर्म पनि यही हो । पत्रकारले प्रहरी, प्रधानमन्त्री र मन्त्रीहरुले के भन्छन् त्यही मात्र लेख्ने होइन । त्यसलाई प्रमाणिकरण गर्ने हो ।

त्यसको तथ्य जाँज्ने हो, प्रमाण खोज्ने हो । त्यही प्रमाण खोज्नका लागि हामीले सूचनाको हक बनाएको हो । यस्तो गर्न सकियो भने पत्रकारितामाथिको संकट पनि पर जान्छ । र समाजमा अन्याय पनि हुदैन । त्यसो गर्न सकियो भने हामीले खाजेको उत्तरदायी समाज पनि निर्माण गर्न सकिन्छ ।’

नेपालमा कन्टेन्टका लागि लगानी नभएको कारण नेपाली मिडियाहरू आफूले पाएको सूचनालाई छिटो प्रवाह गर्ने स्थितिमा रहेको बताए ।

‘पत्रकारहरुलाई समय छैन होला सूचना माग्ने । किनभने नेपालमा कन्टेन्टमा लगानी नै छैन । जे पायो त्यही सूचनालाई छिटो प्रवाह गर्नुपर्ने स्थितिमा नेपाली मिडिया छ । नेपाली मिडियाहरु त खाली ‘फलानाका अनुसार’ र ‘फलानाले यस्तो भन्नुभयो’ भन्ने तरिकाको पत्रकारितामा छ ,’उनको भनाइ छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  १ : ४० बजे