भर्जिनिया – अमेरिकामा २८ वर्षीय ममता काफ्ले हराएको घटनाले नेपाली समूदाय तरंगित बनिरहेको छ। प्रहरीले अनुसन्धानको क्रममा मनासस पार्कका नरेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आफ्नो पत्नि ममता काफ्लेको शव लुकाएको अभियोगमा गिरफ्तार गरिएको प्रहरी विभागले जनाएको छ।
प्रहरीले दिएको जानकारी अनुसार अभियुक्त भट्टलाई हाल धरौटीमा बाहिरिन नपाउने गरी थुनामा राखिएको छ। उनलाई जिल्ला अदालतमा उपस्थित गराइनेछ।
भट्टको गिरफ्तारी पछि, ममताको सानी छोरीलाई सामाजिक सेवाको विभागको हेरचाहमा राखिएको छ। बच्चा सुरक्षित रहेको र अनुमोदित हेरचाहकर्ताको संरक्षणमा रहेको प्रहरिले जनाएको छ ।
२१ अगस्ट २०२४ मा भट्टको निवासमा खोजी अभियान चलाइएको थियो। यस क्रममा, प्रिन्स विलियम काउन्टी प्रहरी विभागको फरेन्सिक युनिटको सहयोगमा अनुसन्धानकर्ताहरूले थप प्रमाणहरू फेला पारेका थिए। ती प्रमाणहरूको आधारमा, राज्यको वकिल कार्यालयसँग परामर्शपछि भट्टलाई पक्राउ गरिएको हो।
मनासस पार्क निवासी ममता काफ्लेको हराएको खबर लगभग एक महिना पहिले प्राप्त भएको थियो, र उनको अवस्था अझै अज्ञात छ। अधिकारीहरूले खोजी जारी राखेका छन् र अनुसन्धान जारी रहेको बताउँदै थप सुराकीहरूको खोजी भइरहेको जानकारी दिएका छन्। अनुसन्धानको क्रममा भट्टविरुद्ध थप अभियोगहरू लगाउन सकिने सम्भावना रहेको छ।
मनासस पार्क प्रहरी विभागले ममता काफ्लेको हराइरहेको घटनामा कुनै जानकारी भए सम्पर्क गर्न आग्रह गरेको छ।