इंग्लिस प्रिमियर लिगमा वेस्टह्याम युनाइटेडमाथि म्यान्चेस्टर सिटीको जित



काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले आफ्नो दबदबा कायम राख्दै वेस्टह्याम युनाइटेडमाथि ३–१ को जित हासिल गरेको छ ।

गएराति सम्पन्न भएको यस खेलमा नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले ह्याट्रिक गरेर सिटीको जितलाई सुनिश्चित गरेका हुन् ।

हालान्डको उत्कृष्ट प्रदर्शनले सिटीलाई यस सिजनको प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिन मद्दत गरेको छ ।

खेलको सुरुआतदेखि नै सिटीले बलमा पकड जमाउँदै वेस्टह्यामलाई दबाबमा राख्यो । खेलको १०औँ मिनेटमा बर्नाल्डो सिल्भाको पासमा हालान्डले पहिलो गोल गरे ।
वेस्टह्यामले केही समयपछि बराबरी गर्ने प्रयास ग¥यो, तर सिटीको मजबूत डिफेन्सले उनीहरूको हरेक प्रयासलाई विफल गरेको थियो ।

सिटीका डिफेन्डर रुबेन डियासको दुर्भाग्यपूर्ण गल्तीले खेलको १९औँ मिनेटमा वेस्टह्यामलाई बराबरीको मौका दियो । डियासले आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को अवस्थामा पुग्यो । तर, वेस्टह्यामले यो लाभलाई लामो समयसम्म कायम राख्न सकेन । खेलको ३०औँ मिनेटमा हालान्डले दोस्रो गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए ।

दोस्रो हाफमा पनि सिटीको नियन्त्रण जारी रह्यो । खेलको अन्तिम समयमा, ८३ औँ मिनेटमा हालान्डले आफ्नो ह्याट्रिक पूरा गरे, जसले सिटीको जितलाई पक्का ग¥यो । यो हालान्डको यस सिजनको दोस्रो ह्याट्रिक हो, जसले उनलाई प्रिमियर लिगको गोल्डन बुटको दौडमा प्रमुख दावेदार बनाएको छ ।

यस जितसँगै म्यान्चेस्टर सिटीले तीन खेलबाट पूर्ण ९ अंक जोड्दै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । साविक विजेता सिटीले यस सिजन पनि उपाधि रक्षा गर्ने दृढता देखाएको छ । अर्को तर्फ, वेस्टह्याम भने तीन खेलबाट मात्र ३ अंक बटुल्दै १४औँ स्थानमा रहेको छ ।

सिटीका प्रशिक्षक पेप गार्डिओलाले खेलपछि हालान्डको प्रदर्शनको प्रशंसा गर्दै हालान्डको खेलले टिमलाई बलियो बनाएको बताए ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १० : २४ बजे