रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध



चितवन । भरतपुर महानगरपालिका १, आँपटारीमा आइतबार बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ। सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए।

दुर्घटनामा तीनजना घाइते

यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन्। भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर ०१ टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन्।

मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो। ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

घाइते सबैको अवस्था मध्यम छ। उनका अनुसार बसका चालक फरार रहेको र खोजी जारी रहेको छ।

यस्तै, सोही सडकखण्डमा तीनवटा सवारीसाधन एकापसमा ठक्कर खाएका छन्।

भरतपुर महानगरपालिका–२९ जुगेडीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा११च ८२६२ नम्बरको सफारीले रोकिराखेको बागमती प्रदेश०३–००१च १७७० नम्बरको जिप र ग२च ४४३६ नम्बरको जिपलाई ठक्कर दिएको हो।

ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको छ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ११ : १५ बजे