कलाकार ‘इकु’ पक्राउ,युरोप र क्यानाडा पठाउने भन्दै ठगी गरेको खुलासा



काठमाडौँ । कलाकार बनाएर युरोपेली देश र क्यानाडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंखर ‘इकु’ पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले इकुलाई काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको हो।

नेपाली सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा पठाइदिने भन्दै उनले पैसा उठाएको उजुरी छ।

राम्रो आम्दानी हुने लोभ देखाएर उनले लाखौँ रुपैयाँ ठगी गरेको उजुरी परेको सीआईबी स्रोतको भनाइ छ।

प्रहरीका अनुसार कलाकार इकुले आफ्नो कम्पनी इकु कम्पनी एसएमएस फिल्मस प्रालिका नाममा ग्लोबल आईएमई बैंकमा खोलेको खातामा १५ देखि २० लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए।

उनले नक्कली भिसालगायतका कागजात बनाउने गरेको पनि भेटिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ७ : ०५ बजे