हिन्दुहरुको महान पर्व दशैं र तिहार नजिकिएसँगै सरकारको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तिब्रता दिएका छ ।
गुणस्तरहीन र अखाद्य बस्तुको विक्री वितरण हुने र कालोबजारी मौलाउने भएकाले विभागले दैनिक अनुगनमन गर्ने फर्म र उद्योगको संख्या बढाएको छ ।
बुधबार मात्र विभागले १८ फर्म र उद्योगमा अनुगमन गरेको छ । वास्तवमा चाडपर्व लक्षित अनुगमन गर्नुको कारणबारे नेपाल न्यूज बैंकले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवम सूचना अधिकारी डिक बहादुर कार्कीसँग कुराकानी गरेको छ ।
दशैँ तिहार लक्षित बजार अनुगमन गरिरहनुभएको छ । कस्ता कस्ता केसहरुले भेटिने गरेका छन् ?
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको मुख्य काम भनेको बजार अनुगमन नै हो । अनुगमन चाडवाडमा मात्र होइन नियमित रुपमा गरिने कार्य हो । नियमित अनुगमनका अतिरिक्त चाडपर्वलक्षित कार्ययोजना समेत बनाएका छौं । जसमा दैनिक सात आठवटा टोली बजार अनुगमन गर्नका लागि पठाउने गरेका छौं ।
त्यस्तै सार्वजनिक विदाको दिन समेत टोली परिचालन गरिरहेका छौं । अनुगमनका क्रममा चाडपर्वमा बढी मात्रामा वस्तु र सेवाको विक्री वितरण हुने गरेका कारणले मिसावट, मानव स्वास्थ्यलाई असर गर्ने वस्तुको विक्री वितरण, मूल्यवृद्धि, कृतिम अभाव जस्ता समस्या पर्ने गरेका छन् ।
विभागले मध्यनजर राख्दै तीनै कुराहरुलाई रोक्नको लागि अनुगमनलाई तिव्रता दिइरहेको छ । अनुगमनका क्रममा खासगरि वस्तु तथा सेवाको लेबल नलगाएको, म्याद गुज्रिने समय नलेखेको, उत्पादकको ठेगाना नलेखेको लगायतको विषयहरु, गुणस्तर र एमआरपीभन्दा बाहिर गएर लिएको जस्ता कुराहरुलाई आधार मानेर अनुगमन गरिरहेका छौं ।
केही स्थानमा अस्वाभाविक मूल्य वृद्धि गरेर बेचिरहेको, लेबलिङ नटासिएको भेटेका छौं । केहीलाई आवश्यक निर्देशन दिने र केहीलाई जरिवाना तिराउने, सचेत गराउने कामहरु गरिरहेका छौं ।
चाडवाडका बेला मात्रै विभागले बजार अनुगमनमा सक्रियता देखाउने, अरुबेला बजार अनुगमन नगर्नुको कारण के हो ?
त्यस्तो होइन । प्रत्येक दिन अनुगमन गर्दै आइरहेका छौं । तर, चाडपर्वमा चाँही विषेश कार्ययोजना बनाएर काम गरिरहेका छौं । जसमा संयुक्त अनुगमन टोली बनाएर सार्वजनिक विदामा समेत हामीले अनगुमन गरिरहेका छौं । चाडवाडलाई लक्षित गरेर विभाग अलि बढी सक्रिय भएको हो । तर अनुगमन त विभागले नियमित रुपमै गर्दै आइरहेको छ ।
बजारमा उपभोक्तालाई ठग्ने मनसायले एमआरपीभन्दा बढी मूल्यमा सामान विक्री भइरहेका हुन्छन् । तर सबै ठाउँमा विभागको आँखा पुग्दैन । पुगेको ठाउँमा समेत आवश्यक निर्देशन र सचेत मात्र गराउँदा कार्यान्वयन भएको पाइँदैन नि ।
यो कुरामा मेरो असहमति छ । दैनिक रुपमा गर्ने अनुगमनको प्रतिवेदन हेर्नुभयो भने ३० देखि ४० फर्म व्यवसायहरुको अनुगमन गरेका हुन्छौं ।
त्यसमा जरिवाना गरिएको संख्या पनि बढी नै छ । त्यस्तै उनीहरुलाई सचेत गराइएको संख्या पनि बढी नै छ । जरिवाना नगर्ने भन्ने त होइन तर हाम्रो उद्देश्य के हो त भन्दा जरिवाना गरेर राजस्व संकलन गर्ने भन्दापनि उपभोक्तालाई सचेत गराउने र व्यवसायीहरुलाई गुणस्तरीय सामानहरु बेच्न उत्प्रेरित गर्ने हो । उपभोक्तालाई जागरुक र विवेकशील बनाउने नै हाम्रो लक्ष्य हो ।
विभागले बजार अनुगमन गर्ने मापदण्डहरु के हुन् ? उजुरी अथवा गुनासो आएपछि मात्रै जाने हो कि, के हो ?
विभागले बजार अनुगमन गर्दैगर्दा अनुगमन कार्ययोजना बनाउँछौं । त्यही कार्ययोजनालाई टेकेर एक हप्ताको योजना बनाउँछौं । अनुगमन टोलीका सदस्यहरुलाई यो ठाउँमा जाने, यो पसलमा अनुगमन गर्ने भने पूर्ववतः जानकारी गरेका हँुदैनौं ।
अनुगमन टोलीका सदस्यहरुले चाँही अनुगमनमा जानुभन्दा पाँच मिनेट अगाडि यो ठाउँमा जाने भनेर उनीहरुलाई सम्बन्धित शाखाको प्रमुख अथवा अधिकार प्राप्त व्यक्तिले भनेको हुन्छ । व्यवसाय वा फर्ममा अनुगमन गर्ने भन्ने कुरा थाहा हुँदैन । त्यसमा पनि अनुगमन टोली नियमित रुपमा अनुगमनमा जाने त भइरहन्छन् । त्यसका अतिरिक्त हेलो सरकारबाट उजुरी प्राप्त हुन्छ । विभागको वेबसाइटमार्फत पनि उजुरी प्राप्त हुन्छ ।
१०३७ हाम्रो हटलाइनमा समेत कल गरेर उजुरी दिन पाइन्छ । त्यसरी आएका उजुरीका आधारमा र उपभोक्ता अधिकारकर्मीहरुमा प्राप्त उजुरीलाई नै प्रमुख आधारमा मानेर बजार अनुगमन गर्छौं । यसका अतिरिक्त छड्के अनुगमन पनि उपत्याकाका विभिन्न ठाउँहरुमा पनि गर्दै आइरहेका छौं ।
विभागले काठमाडौं उपत्यका बाहिरका ठाउँमा कसरी अनुगमन गरिरहेको छ ?
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग राज्यको एक महत्वपूर्ण निकाय हो । अनुगमन गर्ने निकाय र अंगहरु चाँही स्थानीय निकायहरुसँग पनि छ । प्रदेश सरकारबाट समेत अनुगमन भइरहेको हुन्छ । स्थानीय तहका उपाध्यक्ष र उपप्रमुखको संयोजकत्वमा अनुगमन टोली नै गठन गरिएको हुन्छ । उहाँहरुले आफ्नो क्षेत्रमा अनुगमन पनि गरिरहेको हुन्छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयमार्फत समेत अनुगमन भइ नै रहेको हुन्छ ।
विभाग अन्तर्गत मात्रै पनि चार पाँचवटा अन्य कार्यालय र शाखाहरु छन् ति शाखाहरुबाट समेत अनुगमन भइरहेको हुन्छ । त्यसैले उपत्यकता बाहिर हाम्रो उपस्थिति कम जस्तो देखिएपनि सरकारका अन्य निकायहरुले चाडवाड लक्षित अनुगमनहरु गरि नै रहेका हुन्छन् ।
संघीय मन्त्रालय र बजार अनुगमन गर्ने सरकारी निकायहरुले उपत्यका बाहिर गर्ने अनुगमन भत्तासँग जोडिएको कारण प्रभावकारी नभएको र नामको मात्रै अनुगमन भयो भन्ने आरोप पनि छ नि, के भन्नुहुन्छ ?
सरकारले अनुगमनमा जाने टोलीका सदस्यहरुको लागि त्यस्तो व्यवस्था गरेको छैन । तर, जो व्यक्ति अनुगमनमा गइरहेको हुन्छ उसलाई खाजा भने पाँच सय रुपैयाँ दिइरहेको हुन्छ । अन्य भत्ताको व्यवस्था गरिएको हुँदैन । त्यसकारण यो आरोप सत्यताको नजिक नहुन सक्छ कि । खाजा खर्च बाहेक अनुगमन टोलीका सदस्यहरुलाई अन्य भत्ताहरु दिएको मलाई थाहा छैन ।
तर, विभागले मौसमी अनुगमन मात्र गर्दा प्रभावकारी भएन भनिन्छ । अनि विभागले अनुगमनका क्रममा दिएका निर्देशनहरु कति कार्यान्वयन गरिए नगरिएको ‘फलो अप’ गर्छ कि गर्दैन ?
सर्वप्रथम त यो अनुगमन मौसमी नभएको म सबैमा स्पष्ट पार्न चाहन्छु । किन कि विभागले सदाबहार अनुगमन गर्ने गरेको छ । तर, अनुगमनमा प्रभावकारिता नआएको हुनसक्छ । त्यसमा विभिन्न समस्याहरु हुन्छन् ।
अनुगमनका क्रममा कुनै कैफियत देखिएमा उपभोक्ता संरक्षण ऐनमा भएका व्यवस्थाहरु, कानूनहरुको पालन नभएमा फर्म व्यवसायीहरुलाई व्यवस्था अनुसार सजाय हुन्छ । अथवा सामान्य गल्ती वा ठुलो गल्ची छैन भने सचेत गराउने र गल्ती नदोहोर्याउने भने सामान्य निर्देशन समेत दिने गरेका छौं । तर, गम्भीर त्रुटी छ भने ऐन कानूनमा तोकिए बमोजिमको सजाय हुन्छ । गम्भीर त्रुटीलाई पनि बारम्बार दोहोर्याउन त्यो व्यवसायलाई बन्द गर्ने अथवा सिल गर्ने लगायतका जरिवाना समेत गरिएका हुन्छन् । त्यस कारण अपराधको कसुरअनुसार सजायहरु हुन्छ । यो सधैं गरिने भएपनि अनुगमनलाई चाडपर्वमा अझ योजना बनाएर तिव्रताका साथ गरिँदै आएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रत्येक आर्थिक वर्षमा बजार अनुगमनसँग सम्बन्धित कार्य योजना नै बनाएको हुन्छ । त्यो कार्ययोजनामा राखिएका बजार अनुगमनका लक्ष्यहरु पुरा हुन्छन् ?
बजार अनुगमनको जुन वार्षिक लक्ष्य छ त्योभन्दा बढी नै अनुगमन गरेका छौं । गतवर्ष पनि लक्ष्यभन्दा १९ प्रतिशत बढी गरेका थियौं । यसवर्ष पनि लक्ष्यभन्दा बढी नै हुनेगरी अनुगमनमा उत्रिएका छौं ।
यसले व्यवसायी र उपभोक्तालाई सजग गराउन भूमिका खेल्छ । जुन अनुगमनको लक्ष्य र प्रगति छ त्यसले चाँही लक्ष्यपूर्ति गर्नेभन्दा पनि प्राविधिक विषय ठान्नुपर्छ । जबसम्म तीनै तहका सरकारहरुको संयुक्त रुपमा अनुगमन हँुदैन, तीनै तहको सरकारले बजार अनुगमनका काममा समन्वय र सहकार्य गर्दैनन जबसम्म फर्म व्यवसायीहरु इमानदार हुँदैनन्, उनीहरुले कर्पोरेट उत्तरदायित्व राख्दैनन् । जबसम्म सेवा उपभोग गर्ने उपभोक्ताहरु जागरुक र विवेकशील हुदैनन् तबसम्म बजार अनुगमनको प्रयत्न पूरा नहुन सक्छ ।
त्यसकारण सबैभन्दा पहिले उपभोक्ता नै सजग हुनुपर्दछ, इमानदार हुनुपर्दछ । उपभोक्ता ठगिएमा तुरुन्तै हेलो सरकारमार्फत र विभागको हटलाइनमा कल गरेमा र भौतिक उपस्थितिमै उजुरी गरेमा विभागले कारबाही गर्नेछ ।
तपाइँहरुको अनुगमनका क्रममा उपभोक्ताहरु कत्तिको सचेत पाइरहनुभएको छ ?
विभागमा उजुरीहरुको संख्यामा वृद्धि हुनुले निश्चय पनि उपभोक्ताहरु सचेत हुँदै जानुभएको पुष्टि हुन्छ । विगतका वर्षहरुभन्दा उजुरीहरुमा वृद्धि हुँदै जानुले पनि उपभोक्ता सचेत हुँदै गइरहेको पाएका छौं । उपभोक्ता सचेत हुँदै गइरहेका छन् ।
साना पसलहरुमा मात्रै अनुगमन गर्ने ठुला व्यवसायीक फर्महरुमा अनुगमन नगर्ने आरोप पनि लाग्ने गरेको छ नि ।
हो, हामीलाई यही आरोप लाग्ने गरेको छ । हामीलाई चाँही साना व्यवसायी र साना फर्महरु बढी अनुगमन भयो । ठूला फर्महरुमा कम भयो आरोप लागिरहेको छ । साना ठुला भन्दापनि उजुरीको अवस्था अनुसार अनुगमन गर्छौं । अनुगमनको स्थलअनुसार सानाठुला जुनसुकै किसिमका व्यवसायहरु जसले उपभोक्ता संरक्षण ऐन अनुसार अपराध गरेका हुन्छन् तिनीहरुलाई कारबाही गर्दै आइरहेका छौं । त्यसैगरी जनचेतनामुलक कार्यक्रहरु समेत सञ्चालन गर्दै आइरहेका हुन्छौं ।
दशैंमा यात्रा गर्ने यात्रुहरु बढीभन्दा बढी खानामा ठगिने गरेका हुन्छन् । यसमा तपाईको अनुगमन हुन्छ कि हँुदैन ?
दशैं तिहारका लागि गाउँ फर्किने उपभोक्ताहरु राजमार्गका होटलहरुमा ठगिने गरेका छन् । अखाद्य वस्तुहरु समेत बेच्न राखेका हुन्छन् । यसरी मानव स्वास्थ्यलाई प्रतिकुल असर पुर्याउने गतिविधि हुनसक्ने भएकाले राजमार्ग केन्द्रित अनुगमन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विभाग र गृह मन्त्रालयले अनुरोध गरिरहेको छ । अनुगमन हुन्छ ।
चालु आर्थिक वर्षमा कति फर्म र व्यवसायीलाई कारबाही गरेर कति राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ?
चालु आर्थिक वर्षमा ३५०० फर्म र व्यवसायको अनुगमन गर्ने लक्ष्य राखेका छौं । अनगुमनलाई सकेजति बढाउने नै भन्ने हो तर यति नै राजश्व उठाउने भन्ने हँुदैन । हाम्रो कार्य नै राजश्व उठाउने नभइ उपभोक्तालाई जागरुक बनाउने हो । तीनै तहको सरकारसँग समन्वय गरेर अनुगमन प्रभावकारी बनाउने नै लक्ष्य हो ।