चिसो बढ्दै,आज पहाडी जिल्लाहरुका केही स्थानमा वर्षा हुने



काठमाडौँ — काठमाडौ उपत्यका लगायत देशैभरी लगातार चिसो बढिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने छ । गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : कार्तिक १, २०८१ बिहिबार  ९ : १८ बजे