प्रहरीको लापरबाहीले दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन



सुर्खेत । प्रहरीको लापरबाहीले गर्दा दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन भएको छ।

शुक्रबार दैलेख र सुर्खेतको सिमाना रातानाग्ला गाडी दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले आन्दोलन गरेका हुन्।

आन्दोलनकारीले दैलेखका प्रहरी चेकपोस्टका कर्मचारीहरूलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको उपचार राज्यले गर्नुपर्ने लगायतका माग राखेका छन्।

सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी चालक र धनीलाई कारबाही गर्नुपर्ने उनीहरूको अर्को माग छ।

शुक्रबार रातानाग्लामा दुर्घटना भएको १५ सिटको गाडीमा ३४ जना सवार थिए। दैलेखबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको गाडी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना भएको थियो। दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका छन्।

घाइते ११ जनाको नेपालगञ्ज र ९ जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। १० जना डिस्चार्ज भएको सुर्खेत प्रहरीले जनाएको छ।

प्रकाशित मिति : कार्तिक २४, २०८१ शनिबार  २ : ३८ बजे