मानव तस्करीमा मुछिएका कोशीका निवर्तमान मन्त्री अधिकारी एमालेबाट निलम्बित



काठमाडौं, २४ कार्तिक । नेकपा (एमाले ) ले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीको सदस्यता निलम्बन गरेको छ । आरोपको अन्तिम निरुपण नभएसम्म पार्टीको कुनै पनि तह र जिम्मेवारीमा रहन नपाउने गरी एमालेले उनको निलम्बन गरेको हो ।

‘लिलाबल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभए सम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी वहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधी परिषद सदस्य तथा नेकपा (एमाले) को संगठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ,’ एमाले कोशी प्रदेश समितिले अधिकारीलाईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अधिकारीसँग जापान पुगेका तीन जनासहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अधिकारीसँगै जापान पुगेर डिपोर्ट भएका तीन जनाले आफूहरुले १० देखि १३ लाखसम्म पैसा बुझाएको बयान दिएका छन् । मन्त्री अधिकारी पका्रउ नपरेकोमा अहिले एमाले र सरकारको आलोचना समेत भइरहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ४ : ५६ बजे