काठमाडौं। कप्तान पूजा महतोको दमदार प्रदर्शनसँगै नेपालले आइसिसी यु.१९ महिला टी.२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध विशाल जित हात पारेको छ। मंगलबार भएको खेलमा नेपाल १६५ रनले विजयी भएको हो।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा सबै विकेट गुमाउँदै ४८ रन मात्रै बनाउन सक्यो। योसँगै नेपालले प्रतियोगितामा चौथो जित निकालेको छ। नेपालले थाइल्यान्डलाई ६७ र १०६ रनले पराजित गरेको थियो। यस्तै, कुवेतलाई १०८ रनले पाखा लगाए पनि युएईसँग १३ रनले पराजित हुन पुगेको थियो।
नेपाली टोलीका ओपनर साना प्रभिन र सावित्री धामी कृजमा जम्न सकेनन्। तर, कप्तान पूजा र उपकप्तान सोनी पाख्रिनले १५७ रनको साझेदारी गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याएकी हुन्।
पूजाले प्रतियोगितामै पहिलो शतक प्रहार गरिन्। ६९ बल खेलेकी उनले १७ चौकासहित १३० रनको अविजित इनिङ्स खेलिन्। यस्तै, सोनी अर्धशतक बनाउन ७ रनले चुकिन्। ३३ बल खेलेकी उनले दुई चौकासहित अविजित ४३ रन बनाइन्।