स्थानीय तह उपनिर्वाचन : कुन-कुन पदका लागि को कहाँ उम्मेदवार बने ?



काठमाडौं । उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयका दिन आज देशभरबाट विभन्न दल र स्वतन्त्र उम्मेदवारका मनोननयनका खबरहरु प्राप्त भइरहेका छन्।

काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदमा कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन्। त्यस्तै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन्।

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि महर्जनले आज पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

एकीकृत समाजवादी र नेसपाको महिन्द्रराय यादव समूहले भने कीर्तिपुरको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

त्यस्तैः नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।कांग्रेस काठमाडौं अध्यक्ष कृष्णसबुज बानियाँले पाठकलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए। पाठक कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १६ का सभापति हुन्।

काठमाडौं महानगर १६ मा २०७९ को वैशाखमा अध्यक्ष पदमा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका थिए। २०८० भदौमा रिजालको निधन भएपछि वडाध्यक्ष पद रिक्त छ।

वडा नम्बर १६ को अध्यक्षमा नेकपा (एमाले) बाट लक्ष्मीरत्न तुलाधर उम्मेदवार छन् भने नेकपा ९एकीकृत समाजवादी० बाट मीनबहादुर मानन्धर उम्मेदवार छन्। एकीकृत समाजवादीका मानन्धरलाई नेकपा (माओवादी केन्द्र) को पनि समर्थन छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट रोजिना श्रेष्ठ उम्मेदवार छन्।

उता कोशीबाट प्राप्त समाचारमा अनुसार नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि कोशी प्रदेशमा जिल्ला समन्वय समिति प्रमुख, गाउँपालिका अध्यक्ष र वडाध्यक्षका उम्मेदवार टुंगो लगाएको छ।कांग्रेसले जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। साथै मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदमा बलराम सरदारलाई उम्मेदवार बनाएको छ।

ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा भीमकुमार लक्सम्वा उम्मेदवार भएका छन् भने झापाको कन्काई नगरपालिका ६ को अध्यक्षमा रामगोपाल वली, तेह्रथुमको लालीगुराँस नगरपालिका ८ को अध्यक्षमा नगेन्द्र लिम्वू उम्मेदवार छन्।

सुनसरीको गढी गाउँपालिका ६ को अध्यक्षमा तेतर साह, ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को अध्यक्षमा घनश्याम दाहाल, उदयपुरको त्रियुगा नगरपालिका १२ को अध्यक्षमा सन्जिव काफ्ले र उदयपुरकै बेलका नगरपालिका ९ को अध्यक्षमा नवराज बस्नेत उम्मेदवार रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

हेटौंडा पनि स्थानीय उपनिर्वाचनको माहोल तात्तिएको छ। प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएका छन्।

गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको हो

नेपाली कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेस हेटौँडा नगर समितिका सभापति उत्सव इटेनीले जानकारी दिए। नेकपा एमालेले राजेश नगरकोटीलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ भने नेकपा माओवादी केन्द्रले रविन प्रधानलाई उम्मेदवार बनाएको छ।

ठूला दलसँगै नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार टुङ्गो लगाएका छन्।

कैलालीमा भने जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ। एमालेले कांग्रेसलाई सहयोग सहयोग गरेर जाने भएको छ।

मंसिर १६ गते हुने समन्वय प्रमुखको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई समर्थन गर्न सत्ता दल नेकपा एमाले र काँग्रेसबिच सहमति भएको हो ।

नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज डङ्गौरा, सचिव केशव मिश्र र नेकपा एमाले कैलालीका इन्चार्ज नारदमुनि राना, कैलाली अध्यक्ष यज्ञराज डुङ्गाना, सचिव ममता चौधरीलगायतका नेताबिच सो सहमति भएको हो ।

कांग्रेसले प्रमुखमा टीका कुमारी चौधरी (भुल)लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। उनको उम्मेदवारी दर्तामा धनगढी उपमहानगरकी उपप्रमुख तथा नेकपा एमालेकी नेतृ कन्दकला राना प्रस्तावक रहेकी छिन्।

टिका कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन्।
२०७९ साल पुस २३ गते समन्वय प्रमुख पदम कलेलको निधन भएपछि कार्यवाहक प्रमुखको भरमा समन्वय चलिरहेको थियो।

यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी,नेकपा एकीकृत समाजवादी र स्वतन्त्रका जनप्रतिनिधिको मतदान गर्न पाउने छन्।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १ : १८ बजे