काठमाडौँ । चर्चित कथावाचिका देवी प्रतिभा(प्रतिभा पराजुली) फेरी नेपाल आउने भएकी छिन् ।‘प्यार से बोलो ना’ थेगोले चर्चा कमाएकी देवी प्रतिभा मकर स्नान माघ महामहोत्सवका अवसरमा १ महिनासम्म चल्ने महायज्ञमा कथावाचन गर्नका लागि चितवनको देवघाटमा आउन लागेको आयोजकले जनाएको छ ।
यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर धेरैको मन जितेकी २३ वर्षीया प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ ले यस पटक १० दिनका लागि देवघाटमा कथा वाचन गर्नका लागि आउन लागेकी हुन् ।
मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने ‘देवघाट महा महोत्सव’मा देवी प्रतिभाका अलावा पूज्य ईश्व्रकृष्ण महाराजजी, पूज्य ओम प्रकाश गुरु, पूज्य यशोदा कौडिन्य र पूज्य अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
मकर स्नान माघ महामहोत्सवका अवसरमा आश्रम र दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महामहोत्सबबाट उठेको सहयोग रकम निर्माणाधिन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ ।
माघ महिनाभर चल्ने महोत्सवका अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै विश्वकै नमुना मन्दिर देवघाट दिव्य धाम मन्दिरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ ।