काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । सुपर सिक्समा पुग्न नसकेको नेपालले घरेलु टोली मलेसियामाथिको जीतलाई सान्त्वनाको रुपमा लिएको छ ।
घरेलु टोली मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कप्तान पुजा महतोले नटआउट २३ रनको पारी खेल्दा सिमाना केसीले ४ रन नटआउट बनाएर साथ दिइन् ।
मलेसियाकी मार्सियाले ३ विकेट हात पारिन् ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर ४५ रन बनाएको थियो । नुरिमानले सर्वाधिक १५ रन बनाएकी थिइन् । नेपालकी कप्तान पुजाले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । रचना चौधरीले ३ तथा सिमाना केसी र रिया शर्माले १–१ विकेट हात पारे ।
पूजा महतो आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म सर्वाधिक विकेट लिने बलर समेत बनेकी छन् । उनले ४ खेलमा ९ विकेट लिइन् । उनी आजको खेलमा प्लेयर अफ दी म्याच बनिन् ।