उमा गौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार पुर्पक्षका लागि जेल चलान भएका छन्। मोरङको धनपालथान गाउँपालिकामा रहेको उक्त सहकारी ठगी मुद्दामा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलाइ जिल्ला अदालत पुर्पक्षको लागि कारागार चलान गरेको हो।
न्यायाधीश अरुणकुमार झाको इजलासले आइतबार रौनियारलाई पुर्पक्षको लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
माघ १४ गते अदालत हाजिर भएका रौनियारविरुद्धको मुद्दामा वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच आइतबार नै थुनछेक बहस भएको थियो।
रौनियार सहित २६ जनालाई प्रतिवादी बनाएर मङ्सिर २७ गते २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो माग दाबीसहित मुद्दा दायर भएको थियो।