रविलाई जिल्ला चितवन अदालतले लगायो प्रहरीको जिम्मा



भरतपुर । रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा पठाएको छ। जिल्ला अदालत चितवनले लामिछानेलाई हिरासतमा पठाएको हो।साहारा बचत सहकारीसम्बन्धी मुद्दामा थुनछेक बहस नसकिएकाले रविलाई हिरासतमा पठाइएको हो।

बिहीवार बिहान १० बजे उपस्थित गराउने गरी रविलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए।उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिने छ।

भरतपुरस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको सम्बन्धमा रवि लामिछानेविरूद्ध चितवन जिल्ला अदालतमा दायर भएको थियो।

यो मुद्दा चितवन अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ। ढकालकै इजलासले थुनछेक बहस सकेर निर्णय सुनाउने छ।

मुद्दामा सरकारका तर्फबाट सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी र बुद्धबहादुर थापाको बहस सकिएको छ।

त्यसैगरी जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस सकिएपछि बुधबारको बहस पूरा भएको छ।जाहेरवालाका तर्फबाट एकजना वरिष्ठ अधिवक्तासहित ४ जनाले बहस गर्दैछन्।

प्रतिवादी रवि लामिछानेका तर्फबाट १० जना कानुन व्यवसायीले बहस गर्न वकालतनामा दर्ता गराएका छन्।

बाँकी कानुन व्यवसायीहरूको बहस बिहिबारबाट फेरि सुरू हुने अदालतका सूचना अधिकारी विश्वकर्माले बताए।

सहारा चितवनको रकम हिनामिना गरेको अभियोगमा लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मङ्गलबार मुद्दा दर्ता भएको थियो।

व्यक्तिबाहेक ६ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ।

प्रतिवादीमा लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन्।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ७ : ४२ बजे