महिला टी–२० श्रृङ्खलाका सबै खेलमा नेपालको हार,पूजा महतोले पाइन् स्कुटर



काठमाडौं । काठमाडौंमा भएको महिला टी–२० श्रृङ्खलामा नेपालले लज्जास्पद प्रदर्शन गरेको छ । नेपालले खेलेका सबै ६ खेलमा हार बेहोरेको हो ।

शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा ८२ रनको चुनौती थाइल्याण्डले १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो ।

यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रन बनायो । सम्झना खड्काले सर्वाधिक १७ रन बनाएको इनिङ्समा कविता जोशीले १४ तथा डेब्यु खेलाडी राजमती ऐरीले १७ बलमा अविजित रहँदै ११ रन बनाइन् ।

नेपाल यसअघि खेलेका पाँच वटै खेलमा पराजित भएको थियो । यसअघि नेपाल नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्याण्डसँग ४ विकेट र पाँच रनले पराजित भएको थियो ।

थाइल्याण्ड भने पाँच खेल जितेर उपाधि जित्न सफल भएको छ । नेदरल्याण्ड्स ८ अंकसहित दोस्रो भएको छ ।

महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा पूजा महतो उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन्।

ब्याटिङ र बलिङमा उत्कृष्ट योगदान पुर्‍याएकी पूजालाई उत्कृष्ट नेपाली खेलाडी घोषणा गरिएको हो।

सिरिजमा उनले ३ विकेट लिनुको साथै १३४ रन बनाइन्। यससँगै पूजाले यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड स्कुटर प्राप्त गरेकी छिन्।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ३ : २६ बजे