मन्त्रीको कार्यकक्षसहित खानेपानी मन्त्रालयका ३ कोठाका कागजात जलेर ध्वस्त,आगलागी नियन्त्रणमा



काठमाडौँः सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।

सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।

आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन ।

क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १० : १६ बजे