हराउन थाले भोर्लाका पातको टपरी



उदयपुर । उदयपुरको ग्रामीण भेगमा थारू समुदायले विवाह, भोज, भतेर लगायतमा अनिवार्य प्रयोग गरिने भोर्लाको पातको टपरी प्रयोग गर्ने चलन हराउँदै गएको छ । हिजो आज कृत्रिम टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी हराउँदै जान थालेको हो ।

विवाह, भोज, भतेरसहितका कार्यमा कागजको टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी विस्थापित भएको हो । व्यावसायिक रूपमा परम्परागत टपरी उत्पादन गर्नेको रोजगारी सङ्कटमा पर्दै गएको थारू समुदायका महिला बताउँछन् । त्रियुगा नगरपालिकाको मोतिगडा, बगाहा, जोगिदह, देउरी, खैजनपुर, मोथ्याई, पोर्ताहा, लक्ष्मीपुर, पुरानो गाईघाट र गैरुन क्षेत्रमा बसोबास गर्दै आएको थारू समुदायको विवाह, भोज, भतेरलगायत धार्मिक तथा सांस्कृतिक कार्यमा अनिवार्य रूपमा भोर्लाको पातको टपरी प्रयोग गर्ने चलन छ ।

कागजको टपरीको कारण आफूहरूको संस्कार र संस्कृति नै लोप हुने अवस्थामा पुगेको त्रियुगा–४ बगाहाका महेन्द्र चौधरी बताउँछन्। थारू समुदायको भोज भतेर विवाहसहितका धार्मिक कार्यमा भोजन गर्दा भोर्लाको पातको टपरीमा अरुलाई खाना दिने चलन छ । हिजो आज कागजको टपरी प्रयोग हुन थालेको छ ।

त्रियुगा–४ बगाहाकी ५५ वर्षीया मङ्गलीदेवी चौधरी भन्छन्, ‘दश वर्ष अगाडिसम्म गाउँघरमा भोज भतेरमा अनिवार्य भोर्लाको पातको टपरीमा खाना खान दिने लचन थियो । जंगलबाट पात ल्याएर टपरी उद्योग नै चलाएका थियौँ । सबैतिरबाट टपरीको माग आउँदा वार्षिक रु ५० हजारदेखि रु एक लाखसम्म आम्दानी हुने गरेको थियो ।’

केही वर्षयता टपरीको माग हुन छाडेको र कागजको टपरी प्रयोग गर्न थालेपछि आफूहरूको रोजगारी संकटमा परेको मङ्गलीदेवी चौधरीले बताइन् । चौदण्डीगढी नगरपालिका–४ सुन्दरपुरका ६७ वर्षीय रेवतलाल चौधरी भन्छन्, ‘केही वर्षअघिसम्म अनिवार्य भोर्लाको टपरी प्रयोग गर्ने चलन थियो । कागज र प्लास्टिकका टपरी प्रचलनमा आएपछि भोर्लाको टपरी लोप नै हुने अवस्था आयो ।’

थारू कल्याणकारी सङ्घ उदयपुरका अध्यक्ष डुल्लीराम चौधरीले भन्छन्, ‘पूर्खाको पालादेखि भोर्लाको पातको टपरी प्रयोग गर्ने चलन थियो । अब हराउँदै गएको छ ।’ संस्कृति र संस्कार बचाउन आवश्यक रहेको उनले बताए।

केही वर्षअघिसम्म भोर्लाको टपरीका लागि जिल्लाबाहिर सप्तरी, सिरहा, मोरङ, सुनसरीलगायत ठाउँबाट माग आउने गरेको त्रियुगा–४ बगाहाका महेन्द्र चौधरी बताउँछन्। भोर्लाको पातको टपरी आफूहरूको सांस्कृतिक पहिचान भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ९ : २६ बजे