भारतीय एसएसबीको अत्याचार र आक्रमण, सर्लाहीमा कुटपिटबाट दुई जना गम्भीर घाइते



मलंगवा – नेपाल–भारत सीमामा भारतीय सशस्त्र सीमा बल ९एसएसबी० नेपाली भूमिमा प्रवेश गरी स्थानीय नागरिकहरूमाथि कुटपिट गर्न थालेका छन्।

पछिल्ला दुई हप्ताभित्र मात्र सर्लाहीमा दुई जना नेपाली एसएसबीको आक्रमणबाट गम्भीर घाइते भएका छन्।

सर्लाहीको बलरा नगरपालिकामा बिहीबार साँझ भारतको बसबिट्टा बजारबाट घर फर्किरहेका गोलु रायमाथि एसएसबीका जवानहरूले लाठी प्रहार गरेपछि उनी मोटरसाइकलसहित लडेका थिए। घटनामा उनको दाहिने खुट्टा भाँचिएको छ। गम्भीर अवस्थाका रायलाई काठमाडौँस्थित बीएण्डबी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। खुट्टामा रगत जमेको कारण उनको खुट्टा नै काट्नुपरेको छ।

यसअघि २८ माघ बिहान विष्णु गाउँपालिका–५ का राजीव पण्डित दशगजा क्षेत्र नजिकै रहेको आफ्नै खेतमा जाँदा एसएसबीले बोर्डरमा किन आएको भन्दै कुटपिट गरेको थियो। एसएसबीका प्रहरीले कुटेपछि उनको बायाँ खुट्टा भाँचिएको छ र हाल मलंगवा प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेको छ।

स्थानीयवासीहरूका अनुसार केही समययता दशगजा क्षेत्रमा एसएसबीको ज्यादती बढ्न थालेको छ। नेपालीमाथि गालीगलौज गर्ने, बेइज्जती गर्ने, र सानो कुरामा समेत कुटपिट गर्ने घटनाहरू दोहोरिन थालेका छन्। ग्रामीण भेगका नागरिकहरू आफ्नै खेतबारीमा जानसमेत डराउन थालेका छन्।

पीडित परिवारहरूले नेपाली प्रहरी प्रशासनलाई घटनाबारे जानकारी गराए पनि अहिलेसम्म कुनै ठोस कदम नचालिएको गुनासो गरेका छन्। उनीहरूले सरकारसँग दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

लगातार बढिरहेको ज्यादतीप्रति स्थानीयवासी आक्रोशित छन् र दशगजा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरिरहेका छन्।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीसँग बुझ्न खोज्दा फोन उठेन।

प्रकाशित मिति : फाल्गुन १०, २०८१ शनिबार  २ : २१ बजे