इलाम – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन्।
इलाम अस्पतालको अनुगमन गर्दै उनले भने, ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो’, उनले तोकिएका औषधि अनिवार्य राख्नुपर्ने बताएका छन्। सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ। तोकिएका औषधि अनिवार्य राख्न उनले आग्रह गरे।
बिमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको उनको भनाइ छ। जिल्ला अस्पतालको स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयका काम अगाडि बढाउनेसमेत उनले बताए ।
इलाम अस्पतालका प्रमुख डा प्रभु शाहले दरबन्दीअनुसार चिकित्सक नभएको गुनासो गरेका थिए। सो विषयमा स्वास्थ्यमन्त्री पौडेलले सुगममा चिकित्सक बस्न रुचाउने गरेकाले अब सरकारले जहाँ खटाएको छ सोही ठाउँमा जानुपर्ने अनिवार्य व्यवस्था गर्ने पनि आश्वासन दिए ।
अहिले पनि तराईका अस्पतालमा दरबन्दीभन्दा दोब्बर डाक्टर रहने गरेको भन्दै उनले अब सरकारले खटाएकै ठाउँमा चिकित्सकलाई बस्ने गरी व्यवस्था मिलाउने बताए।














