टिपर दुर्घटना हुँदा आश्रममा सुतेका ३ जनाको मृत्यु



काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका(६ साँखु सलम्बुटारमा टिपर दुर्घटना हुँदा आश्रममा सुतिरहेका तीन जनाको मृत्यु भएको छ। आश्रममा सुतिरहेको अवस्थामा दुर्घटना भएर आएको टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा २१ वर्षका दुई युवा आकाश र सुमन तथा ४५ वर्षका हरिजनको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ। उनीहरुको थप विवरण प्राप्त हुन बाँकी छ।

साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर बिहीबार दिउँसो पौने ४ बजे अनियन्त्रित भई सडक छेउको टहरोमा ठक्कर दिँदा सुतिरहेका तीन जना घाइते भएका थिए।

नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा टिपरले ठक्कर दिँदा उक्त हताहत भएको हो।

प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार  १० : २९ बजे