क्षयरोगको न्यूनीकरण गर्न प्रभावकारी ढंगबाट काम गर्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल



काठमाडौं। सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिताहरू बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

उनले सरकारले यसको न्यूनीकरणका लागि आफ्ना अहिलेसम्मका प्राथमिकताहरु बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको बताए ।

उनले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवाहरू उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिबद्धता जनाए ।

उनले भने, “अहिलेसम्मको प्राथमिकता बदलेर हामीले नयाँ ढंगबाट, प्रभावकारी ढंगबाट जाने स्थिति बनाउनुपर्छ,।”“खुला सिमानाका कारणले पनि समस्या भएको छ । त्यसमा पनि हामीले मित्रराष्ट्रसँग सहकार्य गर्ने र निदान गर्ने साझा नीति अवलम्बन गर्नुपर्छ ।”

मन्त्री पौडेलले क्षयरोगका बिरामी मन्त्रालय, चिकित्सकले खोजेर नभेटिने बताए । पालिकाले क्षयरोगका बिरामी खोज्नुपर्नेमा उनले जोड दिए । क्षयरोग पत्ता लगाउन स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार  १२ : ४२ बजे