इटहरी । पाथीभरा दर्शनका लागि तीर्थयात्री जाँदै गरेको जीपमा करेन्ट लागेर आगलागी हुँदा चालक सहित ४ जनाको ज्यान गएको घटनाको छानविन गरी दोषीमाथि कारबाही अघि बढाउन स्थानीय प्रशासनलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले निर्देशन दिएका छन्।
साथै घाइतेहरूको उपचारका लागि काठमाडौँ लगिने पनि उनले जानकारी दिएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सो घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनामा घाइते भएकाहरूको थप उपचारको लागि काठमाडौं लैजाने प्रयत्न भइरहेको बताउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईंटेलले जनाएका छन् ।
फुङलिङ नगरपालिका १० शेवारो चौकमा मे १ च ३०११ नंवरको गुडिरहेको जीपमा विजुलिको तार खसेर करेन्ट लागी ४ जनाको ज्यान गएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता भिमबहादुर दाहालका अनुसार दुर्घटनामा जिप चालक फुङलिङ घर भएका गाडी चालक दुर्गा भट्टराई, ललितपुर घर भएकी आध्या आचार्य, झापा भद्रपुरका विनोद पौडेल र सरिता पौडेलको ज्यान गएको हो ।
आगोले जलेर सविना आचार्य गम्भीर घाइते भएको र उनका छोरा अभियव सामान्य घाइते भएका छन् । ज्यान गुमाउने आध्या सविनाकै छोरी हुन् भने विनोद र सरिता श्रीमान श्रीमति(अभियवका मावली हजुरवुवा हजुरआमा) हुन् ।
यसैगरी धनकुटामा ईभी गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत धनकुटाको पाख्रीबास नगरपालिका–५ देवीथानमा इटहरीतर्फ आउँदै गरेको गाडी दुर्घटना हुँदा एकको अवस्था गम्भीर रहेको ट्राफिक कन्ट्रोल इटहरीले जानकारी दिएको छ ।