काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलव सुविधा दिने निजी मेडिकल कलेजहरुलाई निर्देशन दिएका छन्।
बिहीबार नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरूबीच मन्त्रालयमा भएको वार्तामा बोल्दै मन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन्।
गत माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर, निजी मेडिकल कलेजले आयोगको निर्णय कार्यान्वयन नगरेको भन्दै आवासीय चिकित्सक आन्दोलित भएका हुन् ।
मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजहरुलाई सरकारले दिने कुनैपनि सुविधा उपलब्ध नगराउने पनि बताए।उनले आवासीय चिकित्सकको सुविधा मासिक ४८ हजार ७०० रुपैयाँ कायम गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।