काठमाडौँ । भारत पाकिस्तानबीच तनाव बढेपछि आईपीएल रोकिएको छ। दुई देशबीचको तनावका कारण आईपीएल प्रतियोगिता रोक्न परेको भारतीय क्रिकेटको बीसीसीआईले जानकारी दिएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको हो।
अब फेरि कहिले प्रतियोगिताका खेल हुनेछन् भन्ने विषयमा बीसीसीआईले कुनै पनि जानकारी दिएको छैन।
आईपीएलमा अब १२ खेल बाँकी छन्। यसअघि प्रकाशन गरिएको तालिकाअनुसार मे २५ मा यो प्रतियोगिताको फाइनल हुने जानकारी दिइएको छ।
‘देशमा युद्ध भइरहेको समयमा आइपीएल प्रतियोगिता राम्रो होइन,’ बीसीसीआईका एक अधिकारीले पीटीआईसँग भनेका छन्।
बुधवार चेन्नई(कोलकाता आईपीएल म्याच भएका बेला भारतले पाकिस्तानमाथि गरेको कारवाही अपरेसन सिंदूरको सम्मानमा राष्ट्रगान बजाइएको थियो।
यसअघि बिहीवारका लागि तय गरिएको पञ्जाब(दिल्लीबीचको म्याच पनि रोकिएको थियो। पाकिस्तानले मे ८ तारिकमा राति करिब साढे ८ बजे भारतको जम्मू, पञ्जाब र राजस्थानको सीमामा मिसाइल र ड्रोनबाट हमला गरिएको थियो। उक्त समयमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल भइरहेको थियो।
पञ्जाबले पहिले ब्याटिङ गरेर १०.१ ओभरमा १ विकेटको क्षतिमा १२२ रन बनाएको थिइो। त्यसबेला मैदानको फ्लडलाइट्स बन्द गरेर दर्शकलाई घर पठाइयो। सहरमा ब्ल्याकआउट गरी म्याच रद्द गरिएको थियो। यो लिगको ५८औँ म्याच थियो।














