मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नुपर्छ : मन्त्री काफ्ले



हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सरकारले नेपालको अर्थतन्त्रमा उच्च योगदान पुर्याइरहेको मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नु पर्ने बताएका छन ।

बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार नेपाल मोबाइल व्यवसायी महासंघको चौंथो साधारणसभालाई उद्घाटन गर्दै काफ्लेले देशको राजश्वमा महत्त्वपूर्ण योगदान दिएको मोबाइल व्यवसायलाई कानुनी झन्झट्पुर्ण अवस्थाबाट मुक्त गरिनु पर्ने बताएका हुन् ।

‘देशको अर्थतन्त्र उन्नयनका लागि व्यवसायीसँग सहकार्य गर्नुको विकल्प छैन, तर कतिपय व्यवस्थाले मोबाइल व्यवसायीलाई असहज भएको सुनिएको छ, कानुनी जटिलतालाई फुकाउन संघीय सरकारसमक्ष बागमती प्रदेश सरकारका तर्फबाट मेरो पहल रहन्छ,’मन्त्री काफ्लेले भने ।

उनले भन्सार छली मार्फत भित्रिएका मोबाइललाई सरकारले कडाइ गर्दा राज्यको कोष बढ्ने भन्दै त्यसतर्फ पनि ध्यान दिनु पर्नेमा जोड दिए। काफ्लेले मोबाइलको सेकेन्ड ह्यान्ड कारोबारलाई पनि व्यवस्थित बनाउनु पर्ने बताए।

‘कतिपय देशहरूमा सेकेन्ड ह्यान्ड फोनको कारोबारलाई सरकारले राज्य कोषमा निश्चित रकम जम्मा हुने गरेर कारोबार गर्न मिल्ने बनाएको छ, नेपालमा अहिले अवैध रुपमा सेकेन्ड ह्यान्ड फोनको कारोबार भैरहेको छ, यसलाई कानुनी दायरामा ल्याएर राज्यकोषमा निश्चित रकम आउने गरेर व्यवस्थित गर्दा राज्यको हितमा हुन्छ,’ काफ्लेले थपे।

उनले व्यवसायीलाई दक्ष बनाउन बागमती प्रदेश सरकारका तर्फबाट आवश्यक बजेट उपलब्ध गराउन आफू तयार रहेको बताउँदै देशमा नै रोजगारी सृजना गर्ने अवस्थाको नेतृत्व गर्न महासंघलाई आग्रहसमेत गरे।

प्रकाशित मिति : बैशाख २७, २०८२ शनिबार  ७ : ३८ बजे